arrow

ओली सरकारको आधा कार्यकालमा ईश्वर पोखरेल सबैभन्दा विवादित मन्त्री 

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा रक्षामन्त्री सबैभन्दा विवादित मन्त्रीका रुपमा देखिएका छन् । उनको संलग्नतामा हुने विवादास्पद निर्णय र कामले मन्त्री पोखरेल सबैभन्दा विवादित देखिएका हुन् । 

कोरोना संक्रमणको महामारीमा उनी सबैभन्दा विवादित बने । प्रधानमन्त्री ओलीले गत फागुनमा दोश्रो पटकको मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुँदा कोरोनासँग जुध्ने रणनीति बनाउन सरकारका तर्फबाट त्यसको कमाण्डरका रुपमा मन्त्री पोखरेललाई जिम्मेवारी दिएका थिए । 

प्रधानमन्त्रीकै आधा जिम्मेवारी पाएका पोखरेलले एक पटक सबै सचिवहरुको बैठक राखेर कार्यवाहक प्रधानमन्त्रीकै जसरी काम गर्न खोजे । तर उनले कार्यवाहक नपाइसकेको अवस्थामा सचिवहरुले उनको कुरालाई खासै ध्यान दिएनन् । 

कोरोना संक्रमणसँग जुध्नका लागि बनेको संयन्त्र अन्तर्गत उनी मातहत करिब एक दर्जन बढी मन्त्रीहरु रहेका थिए । कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिको संयोजक भएपछि उनको ध्यान कमाउ धन्दातर्फ मोडिएको थियो ।
 
मुलुक कोरोना संक्रमणसँग जुधिरहेका बेला उनी उच्चस्तरीय समितिको संयोजक भएपछि चैत ११ मा लकडाउन शुरु भयो । त्यतिबेला औषधी खरिदमा उनकै दबाबमा ओम्नीसँग खरिद प्रक्रिया अगाडी बढाइयो । 

जसले महँगो दररेटमा, गुणस्तरहीन औषधी लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा रातारात लगाउने काम गरे । ओम्नीले पनि एक चरणमा मात्र स्वास्थ्य सामग्री ल्याउने काम गर्यो । 

यसभित्र ब्यापक अनियमितिता भएको, ओम्नीसँगको खरिद सम्झौतामा नीतिगत भ्रष्टाचार गरेको लगायत आरोप उनीमाथि लागेका छन् । अहिले पनि यो प्रकरणका विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको छ । त्यसमा मन्त्री पोखरेल जोडिएका छन् भने अहिले ओम्नी समूह आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट हाल्न पुगेको छ ।  
 
ओम्नीसँगको खरिद सम्झौतामा विवादित बनेपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत गाली गरेका थिए । उनले जनस्वास्थ्यमा खेलवाड भो भनेर गाली गरेका प्रधानमन्त्रीले ओम्नी समूहबारे आफूलाई जानकारी नै नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुपरेको थियो । 

ओम्नीसँग सम्झौता खारेज गरी सेनालाई जिटुजी मार्फत स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडी बढाउने निर्णय भएको थियो । त्यो पनि विवादरहति बन्न सकेन । सेनाले पहिलो चरणमा पिसिआर किट ल्याउन भनेर आफ्नो तर्फबाट अधिकृत नै खटाएको थियो । तर त्यो किट आइपुगेन । 

प्रयोगशालामा परिक्षण गर्नमा किट आवश्यक पर्छ । तर त्यो त्यसरी आएन् । सेनाले खरिद गर्न खोजेको स्वास्थ्य सामग्रीमा पनि पोखरेलले आफैंले एजेण्ट स्थापित गर्न खोज्ने र निहित स्वार्थ मात्र हाबी गराउन खोज्दा त्यसमा पनि उनी विवादित बने । 

यही समयमा उनले रक्षा मन्त्रालयमा प्रधानसेनापति सहितको एउटा बैठकमा सेनाको काम गराईलाई लिएर ‘लकिरका फकिर’ भनेर असन्तुष्टि व्यक्त गरे । 

जस्ले गर्दा उनका लागि त्यो शब्द प्रत्युत्पादक मात्रै बनेन, प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्रीका कारण आफूहरुलाई काम गर्न कठिन भएको समेत बताए । 

प्रशासनिक काममा अल्झाउने काम भएको, खोकना बुङमतिका विषयमा सेनापतिले बैठकमा कुरा उठाएपछि पोखरेलले फकिरका लकिर भनेर सेनामाथि आक्षेप लगाउने काम गरेका थिए ।

मन्त्री पोखरेल त्यतिमै सीमित छैनन् पछिल्लो समय आफ्ना नातेदारलाई प्रतिष्ठित पोष्टमा जिम्मेवारी दिलाएर समेत विवादित बनेका छन् । 



लोकप्रिय समाचार
नयाँ