काठमाडौं । रौतहट र मोरङमा राज्यको नियन्त्रणमा रहेका दुई युवाहरूको बिहीबार शंकास्पद ढंगले भएको मृत्युप्रति नेपाल बिद्यार्थी संघ नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिनदेखि हिरासतमा रहेका १९ वर्षिय स्वस्थ र हट्टाकट्टा युवक बिजय महराको अकस्मात वीरगंजको एक अस्पतालमा भएको निधन अत्यन्त अप्रत्यासित र अस्वभाविक रहेको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गरेका छन् ।
त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका २६ बर्षका युवा निराजन यादवको बिहीबार नै अपरान्ह कोशी अस्पताल पुर्याए लगत्तै भएको शंकास्पद मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न पनि नेविसंघले जोडदार माग गरेको छ ।
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटना तथा रौतहट माधवनारायण नपाको एक मन्दिरका पूजारी राम साहको हत्या भएको केही समय लगत्तै उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको नेविसंघले जनाएको छ ।
एकपछि अर्को उस्तै घटना हुँदै जांदा नेपाल प्रहरीको छविलाई त्यसले पुर्याउने असरप्रति समेत सजग गराउँदै वास्तविकता सार्वजनिक गर्न र तत्काल आवश्यक कार्वाहीको निम्ति सरकार समक्ष समेत नेविसंघले माग गरेको छ ।