काठमाडौं। रौतहटको एक हनुमान मन्दिरका पुजारी हत्याको विरोध तथा हत्यारालाई कार्वाहीको माग गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले गरेको प्रदर्शनका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनमा सहभागीहरुले घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाएका थिए ।
राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश माेर, निराजन सहित १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकीमा राखिएको थियो ।