काठमाडौं । सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी छिन् । यसअघिका दुई वटै उपाधि पुरुष प्रतिस्पर्धीले जितेकामा यसपटक महिलाले उपाधि जितेर गौरव बढाएकी छिन् । उनलाई उपाधि जित्ने दवावसमेत रहेको थियो ।
शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा प्रवीण बेडुवाल फस्ट रनर अप र किरणकुमार भुजेल सेकेन्ड रनरअपको बने ।
दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए ।
एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडलको उत्कृष्ट ३ मा सज्जा, प्रवीण र किरण पुगेका थिए ।
विजेता सज्जाले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार जितेकी छिन् । प्रवीणले १० लाख र किरणले पाँच लाख रुपैयाँ जितेका छन् ।
आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो ।
को हुन् सज्जा
मोरङ पथरीकी सज्जा कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा पहिलो भएकी थिइन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ।
ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।
पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो। उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन्। ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् ।
उनका बाबु मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।