arrow

धोवीधारामा एकैघरका १४ संक्रमित, काठमाडौं महानगरपालिकाले चाँसो नदिँदा स्थानीय त्रसित 

logo
प्रकाशित २०७७ भदौ १३ शनिबार
kathmandu-valley.jpeg

काठमाडौं । कोरोना भाइरसको महामारी समुदायस्तरमै फैलदै जाँदासमेत काठमाडौं महानगरपालिकाले वास्ता नगरेको पाइएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा रहेको धोवीधाराको एकै घरमा १४ जना संक्रमित भए पनि उनीहरुलाई आइसोलेसनमा राख्ने बारेमा कुनै वास्ता नगरेको हो । 

उनीहरुको ट्रेसिङमा समेत महानगरले कुनै चासो नदेखाएपछि स्थानीयहरु त्रसित भएका छन् । 

एक स्थानीयले हाम्राकुरासंग निकै त्रसित हुँदै सुनाए, ‘हामीले निकै जोड गरेर महानगरलाई खवर गर्यौं तर आउन मानेन । धेरै दिन जोड गर्दा मात्र आएर परीक्षण गर्यो ।’

उनले भने, ‘घरमा काम गर्ने इलेक्ट्रिसियनलाई कोरोनाको शंका लागेछ । उनी आफै परीक्षण गराउन गए । उनलाई एक हप्ताअघि बलम्बुको आइसोलेसनमा बोलाएर गएछन् । त्यसपछि परिवारका सबै आइसोलेसनमा बसेछन् । एक दुई दिन गर्दै वरिपरि थाहा भएपछि हामीले बल्ल महानगरलाई दवाव दियौं ।’

उनले भन्दै गए, ‘हामीले दवाव दिएपछि पीसीआर गर्न राजी भयो । तर सबैको गरेन । बल्ल बल्ल १७ जना आइसोलेसनमा बसेका मध्ये १६ जनाको परीक्षण भयो । एक जनाको अझै बाँकी छ । तीमध्ये १३ जनाको पोजेटिभ आयो । ३ जनाको नेगेटिभ आयो ।’

उनले भने, ‘हामी निकै त्रासमा छौं, वरिपरि रहेका सम्भावितको परीक्षण पनि गर्न आएन । उनीहरुको ट्रेसिङबारे पनि वास्ता गरेन । होम आइसोलेसनमै बस्दा झन् स्थिति डरलाग्दो छ । स्थानीय सरकारले हामीलाई वास्ता गरेन ।’

काठमाडौंमा शुक्रबार मात्रै ३५० कोरोनाका नयाँ संक्रमित देखिएका छन् । कोरोना भाइरस समुदायस्तरमै फैलँदासमेत सरकारले कुनै संयन्त्र बनाउन सकेको छैन । 


 



लोकप्रिय समाचार
नयाँ