डोटी । सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका सभापती हर्क बहादुर कुँवरले प्रदेश सरकारको अनुभुती हुने गरी समितिले काम गर्ने बताएका छन् ।
शुक्रबार बाजुरा र अछाम भ्रमण गरि डोटी पुगेका प्रदेश सभा सदस्य समेत रहेका कुँवरले सिलगढिमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । समितिले प्राकृतिक बिपत् भएको ठाँउमा मलम पट्टि लगाउने काम गर्ने कुरा जोड दिए। उनले भने,´ तीन तहका सरकारको हालेमालोले मात्रै बिपत् संग लड्न सकिन्छ ।, जनताकालागी प्रदेश सरकार छ यसको अनुभुती समितिले दिलाउने छ।´
त्यस्तै सोही कार्यक्रममा बोल्दै समितिका सदस्य तथा प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकारले जनताका पिरमार्कामा मलमपट्टि लगाउने काममा खास्सै भुमिका खेल्न नसकेको बताए । समितिले प्रतिबेदन मार्फत र अनुगमनका क्रममा देखिएका समस्या सम्बोधन गर्न प्रदेश सभामा व्यापक छ्लफल गर्ने उनले बताए ।
समितिले जिल्लामा जनधन, खानेपानी, वन, सिंचाई लगाएत विषयमा प्राकृतिक प्रकोपबाट परेको असरबारे अध्ययन गरिरहेको र अध्ययनबाट देखिएका वास्तविक समस्याहरु प्रतिवेदनमा समेटेर पीडित नागरिकका समस्या संवोधन गरिने जनाएको छ ।
समितिले तयार पारेको प्रतिवेदन अनुसार क्षेत्रधिकारभित्रका प्रदेश मन्त्रालयलाई काम गर्न निर्देशन गर्ने र प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय तहलाई पनि प्रतिवेदनको कार्यान्वयनका लागि अनुरोध गर्ने समितिका सभापति कुवरले बताए ।
छलफलका क्रममा स्थानिय तहका जनप्रतिनिधिहरुले आ-आफ्ना पालीकामा प्राकृतिक प्रकोपका घटनाले पुर्याएको क्षतिको बारेमा समितिलाई जानकारी गराए ।
छलफलमा सहभागि प्रमुख जिल्ला अधिकारी भिम भट्टराइले बिपद् ब्यबस्थापनका लागि जिल्ला बिपत ब्यबस्थापन समिति सक्रियता पुर्बक लागेको समितिलाई जानकारी गराए । उनले छलफका क्रममा स्थानिय तहलाई बिपद् ब्यबस्थापनमा सक्रिय रहन पनि आग्रह गरे ।
समितिको स्थलगत अध्ययन टोलीमा समितिका सदस्य बल बहादुर सोडारी र अमर बहादुर साउँद पनि रहेका थिए ।