युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह
एएनआई,
प्रकाशित २०७७ भदौ १३ शनिबार
119
Shares
ब्रसेल्स। युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ। युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुका विरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो।
पछिल्ला केही महिनामा पाकिस्तामा महिलाविरुद्धको हिंसाका रुपमा मानिने गरिएका ‘अनर किलिङ’, बालिका तथा महिलामाथि एसिड आक्रमणका घटनामा बृद्धि भइरहेको बताइएको छ।
यसका साथै पाकिस्तानका कतिपय स्थानमा महिलाहरुलाई जागिर गर्नबाट रोक्ने तथा अरु पनि विविध प्रकारका सामााजिक प्रतिबन्धहरु लगाइएको भन्दै यस्तो अवस्थामा त्यहाँका महिलाको रक्षा तथा सुरक्षा स्वयं त्यहीँको सरकारले गर्नुपर्ने भनेको हो।
पाकिस्तानको वर्तमान सरकार र विगतको सरकारले पनि महिला र बालिकाको रक्षाको क्षेत्रमा खासै उल्लेखनीय काम गर्न नसकेको भन्दै यस विषयमा युरोपेली संसदले पुनः पाकिस्तानको सरकारको ध्यानाकर्षण गराएको बताइएको हो।
केही दिनयता देखि पाकिस्तानको खैबर पाक्थुन्क्वा क्षेत्रमा महिलामाथि जबर्जस्त प्रकारका कानुनहरु बनाइएको र त्यहाँ बालिकाले पढ्ने विद्यालयहरु बन्द गराइएको भन्दै यस्तो कार्य नगर्न उक्त संसदले भनेको छ।
त्यस्ता कानुनी प्रावधानहरु खारेज गर्न आदेश दिन युरोपेली संसदले पाकिस्तानको सरकारलाई भनेको छ। पाकिस्तानका महिला तथा अधिकारवादी सांसदहरुले पाकिस्तानको सरकारले नै महिलाविरुद्धका हिंसा हुने खालका कानुनहरुमा सुधार गर्न नसकेको र महिलाविरुद्ध पछिल्ला दिनहरुमा भएका आक्रमणहरुमा पनि सरकारले ध्यान नदिएको बताएका छन्।