काठमाडौं । जर्मनीमा कोराना भाइरस नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धको विरोधमा हजारौं नागरिक सडकमा उत्रिएका छन् ।
जर्मनीको बर्लिनमा भेला भएका करिब ३८ हजार सर्वसाधारणले दुई समूहमा विभाजन भएर प्रदर्शन गरेका हुन् ।
तर भेलामा सहभागीहरुलाई सामाजिक दूरी कायम गर्न सुरक्षाकर्मीले पटक पटक आग्रह गर्दा बेवास्ता गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।
सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र पानीको बोतल प्रहार गर्दा दुवैतर्फ केही घाइते भएका छन् ।
प्रदर्शनकै क्रममा प्रहरीले तीन सय जनालाई पक्राउ गरेको छ । एउटै र्यालीमा मात्रै दुई सय जनालाई पक्राउ गरिएको छ ।
संक्रमण नियन्त्रणका लागि जर्मन सरकारले मापदण्ड तोकेर केही व्यवसायमाथि प्रतिबन्ध लगाउनुका साथै सभा र भेलाहरु आयोजना गर्न निषेध गरेपछि त्यसको विरोधमा प्रदर्शन चर्किएको हो ।
यस्तै किसिमको र्याली युरोपका विभिन्न सहरमा समेत भएका छन् । लण्डनका साथै पेरिस, भियना र ज्युरिच लगायतका सहरमा प्रदर्शन भएको हो ।
जर्मनीमा कोराना भाइरसबाट २ लाख ४२ हजार ८२५ जना संक्रमित भएका छन् । ९ हजार ३६३ जनाको ज्यान गएको छ । हाल १५ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन् ।