दार्चुला ।भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध भदौ २० गते राति १२ बजे खोलिने भएको हो ।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भदौ २० गते राति १२ बजेदेखि २१ गते बेलुकी ६:४५ बजेसम्म शिल्ट फ्लशिङ्गको कार्य गरिने भएकाले बाँध खुला गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात महाकाली नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले आग्रह गरे ।
बाँधका ढोका शनिवार राति देखि खोलिने भएको हुदा व्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।
सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाँध खोलिने बारे जानकारी गर्दै आइरहेको छ