दार्चुला । आइतवार दार्चुलाका थप दुई जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एक प्रहरी र शैल्यशिखर नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शैल्यशिखर नगरपालिकाका ५१ बर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २७ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड —१९ सम्पर्क व्यक्ति विरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
आइतवार कोरोना पुष्टि भएका प्रहरी काठमाडौबाट सरुवा भएर दार्चुला आएका थिए । उनी दार्चुला बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसिरहेका थिए ।
भदौ ७ गते शैल्यशिखर नगरपालिकाका ४३ जना र भदौ ९ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २१ प्रहरीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला पठाइएको थियो ।
जसमध्ये शैल्यशिखरका एक र जिप्रकाका एक जनाको रिपोर्ट पोजेटिभ आएको कोभिड —१९ सम्पर्क व्यक्ति भट्टले बताए । शनिवार मात्रै दार्चुलामा भारतबाट आएका दुई दाजुभाईमा कोरोना देखिएको थियो । यो सँगै दार्चुलामा कोरोना संक्रमण हुनेको संख्या ५२ पुगेको छ ।