काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको साढे दुई वर्षको अवधिमा सबैभन्दा विवादित मन्त्री बनेका ईश्वर पोखरलको पद सुरक्षित हुने भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना विरोधी कम गर्ने उदेश्यले उनको पद नखोस्ने मनस्थितिमा पुगेपछि उनी सुरक्षित हुने भएका छन् । ओलीले उनलाई हटाएर गृहमन्त्री रामबहादुर थापा वादललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने र भीम रावललाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनाउने सोच बनाएका भएपनि पोखरेल माधव नेपाल समूहसँग मिलेर ओलीविरुद्ध लाग्लान भन्ने डरले पोखरेलको पद सुरक्षित गराउन लागेको स्रोतको दावी छ ।
‘अहिले ईश्वर पोखरेललाई हटाइयो भने माधव नेपाल समूहसँग मिल्न गइदिन सक्छन। बरु जति बदनाम हुन्छ सरकारमै बसेर हुन, केही छैन तत्काललाई नहटाउने’, ओलीले आफ्नो समूहको भित्री टिमसँग यस्तो भनेको वालुवाटार निकट स्रोतले बतायो ।
नेकपाको सचिवालयमा पोखरेल ओली समूहको बलियो पकड रहेको छ । मन्त्रीपदबाट हटाएपछि ओलीको विरोधमा लाग्लान कि भन्ने ओलीमा चिन्ता रहेको छ । उपाध्यक्ष वामदेव गौतमको भर नभएको तथा पोखरेलपनि चिढिएपछि आफूलाई समस्या पर्ने भएपछि उनी पोखरेलको बचाउमा लागेका हुन् ।
‘अहिलेको सरकारका सबैभन्दा बढी विवादित मन्त्री पोखरेल भएको विषय प्रधानमन्त्रीज्यूलाई जानकारी नभएको होइन । अहिले नै जाउ भन्ने अवस्था पनि छैन । राजनीतिक अवस्था पनि अनुकुल छैन’, ओली निकट एक सदस्यले भने । सरकारमा ओलीलाई अप्ठ्यारो परेपछि पोखरेलले धेरै पटक माधव नेपाललाई कोटेश्वरमा भेट्न गएका थिए । ओलीका सहयोगीहरु शंकर पोखरेल, प्रदीप ज्ञवालीलाई लिएर गएका थिए भने कहिले उनी एक्लै गएका थिए ।
नेपाललाई भेट्न पोखरेल एक्लै गएको थाह पाएका ओली त्यसबेलाबाटै सशंकित बनेका हुन् । रक्षामन्त्रीका रुपमा पोखरेलले गरिरहेका कामको विषयमा दर्जनौ गुनासा भएपनि ओलीले बाहिर ढाकछोप गर्दै आएका छन् । कोरोना संक्रमणको महामारीमा उनी सबैभन्दा विवादित बने ।
प्रधानमन्त्री केपी ओली गत फागुनमा दोश्रो पटकको मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हूँदा कोरोनासँग जुध्ने रणनीति बनाउन सरकारका तर्फबाट त्यसको कमाण्डरका रुपमा उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई जिम्मेवारी दिइएको भएपनि उनी त्यसयता कुनै न कुनै रुपमा विवादमा आइरहे ।
कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिको संयोजक भएपछि उनको ध्यान कमाउ धन्दातर्फ मोडिएपछि उनी विवादमा आएका थिए । तर पनि प्रधानमन्त्री ओलीले उनलाई काँखी च्यापिरहेका छन् । ओलीले मन्त्रिपरिषद पुर्नगठन लगायतका विषयमा आफ्ना समूहका नेताहरुसँग छलफल गरिरहँदा पोखरेललाई भने नहटाउने बताएका छन् । नेपाली सेनासँग पनि पोखरेलको सम्बन्ध राम्रो छैन । तर पोखरेललाई दिने अर्को मन्त्रालय पनि नभएकाले तत्काल त्यही राखिराख्ने प्रधानमन्त्री ओलीको सोच रहेको बुझिएको छ । शुरुमै पोखरेलले अर्थमन्त्रालय मागेका थिए । अर्थमन्त्री नपाएपछि रक्षा र उपप्रधानमन्त्री दिएर पोखरेललाई चित्त बुझाइएको थियो ।