काठमाडौं । पाकिस्तान विरुद्धको दोस्रो टी–२० क्रिकेटमा इंगल्याण्ड विजयी भएको छ । म्यानचेष्टरमा आइतबार राति भएको खेलमा इंगल्याण्ड ५ विकेटले विजयी भएको हो ।
खेलमा पाकिस्तानले दिएको १९६ रनको लक्ष्य इंगल्याण्डले १९.१ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कप्तान इयान मोर्गनले ६६ रन बनाए । उनले ३३ बलको मात्र सामना गरेका थिए ।
यस्तै डाविड मालनले नटआउट रहँदै ३६ बलमा ५४ रन बनाए । त्यसबाहेक इंग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए ।
पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
पाकिस्तानको लागि मोहमद हाफिजले ६९ तथा कप्तान बाबर आजमले ५६ रन बनाएका थिए ।
फकर जमानले ३६ रन बनाए । इंग्ल्यान्डका आदील राशिदले २ विकेट लिए । यस्तै क्रिस जोर्डन र टम करणले १–१ विकेट लिए ।
दोस्रो टी–२० मा जित निकालेसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ ।
पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेल मंगलबार हुनेछ ।