काठमाडौं । स्पेनिश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बार्सिलोना बसाई अन्योलपूर्ण भएको छ ।
सोमबारदेखि क्लबले नयाँ सिजनका लागि अभ्यास थाल्दै गर्दा उनी भने क्लबमा बस्न इच्छुक देखिएका छैनन् । सोही कारण उनले आइतबार क्लबले गराएको पीसीआर परीक्षण समेत गराएका छैनन् ।
अन्य क्लबले समेत उनलाई अनुबन्धन गर्नको लागि ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ । ला लिगाले आइतबार मेस्सी अनुबन्धन गर्ने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने जनाएको हो ।
ला लिगाले मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसारको रिलिज क्लज तिर्नुपर्ने बताएको हो । ला लिगाको निर्णयसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमति बिना क्याम्प नाउ छाड्न नपाउने भएका छन् ।
७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमति बिनासमेत क्लब छाड्न पाउने छन् ।
मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने बताइसकेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग हारेको ८–२ गोल अन्तरको तितो हारको जिम्मा लिँदै उनले क्लब छाड्ने निर्णय गरेका थिए ।
उनले क्लबलाई स्पेनिश लिग समेत दिलाउन सकेनन् ।