वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन्। दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।
जापानका तत्कालिन प्रधानमन्त्री ६५ बर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए । आफ्नो अस्वस्थताका कारणले गर्नु पर्नेजति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पु¥याउन लागेको भन्दै उनले राजीनामा दिएका थिए ।
अझै झण्डै साढे एक बर्ष कार्यकाल बाकी रहेकै बेला पद त्यागको घोषणा गर्नुभएका आबे जापानको इतिहासमा सवैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हो ।
गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गरेका थिए । समीक्षाका क्रममा दुई नेताले आफुहरुबीचको सम्वन्ध विशिष्ट प्रकारको भएको चर्चा गरेका थिए ।
आबेले पद त्यागको घोषणा गरेपछि उनहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गरेका थिए ।
उनले जापान–अमेरिका सम्वन्ध आगामी दिनमा पनि थप सुदृढ हँुदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दावी गरे ।
आबेको कार्यकाल अर्को बर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उनले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ ।