arrow

कांग्रेस क्षेत्रीय सभापतिको निधन, देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
singha.jpg

काठमाडौँ । नेपाली कांग्रेसले   कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का पार्टीका क्षेत्रीय सभापति एवं बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । 

सिंहको आइतबार भैरहवा अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार शोक विज्ञप्तिमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  सिंहले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

यसैगरी कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरामा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउँसो गएको पहिरामा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए । 
 
कांग्रेसले सोमबार  प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । 
 
साथै सोही जिल्लाको मायादेवी गाउँपालिका–२ का पार्टीका सभापति मोहनीहासन मुसलमानको निधनप्रति पनि दुःख व्यक्त गरिएको छ । मुसलमानको आइतबार भारतको गोरखपुरमा उपचारका क्रममा ६५ वर्षका उमेरमा निधन भएको हो ।  मुसलमानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 
       
यसैगरी कांग्रेसले पार्टीको पाल्पा—काठमाडौँ सम्पर्क समितिका अध्यक्ष एवं पार्टीका क्षेत्रीय प्रतिनिधि खिमानन्द बस्यालका पिता चोपलालको निधनप्रति दुःख व्यक्त गरेको छ । चोपलालको आइतबार समिट अस्पताल, लोकन्थलीमा उपचारका क्रममा ७७ वर्षका उमेरमा निधन भएको हो ।  बस्यालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ