arrow

उपत्यकामा दुई हजार शय्याको क्वारेन्टिन शीघ्र बनाइँदै, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
YubrajKhatiwada.jpg

काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शय्याको बेग्लै स्थान (क्वारेन्टिन) शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ । 

कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका  विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ । 

मन्त्रिपरिषद्को निर्णय सोमबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको बताए । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नेगरी उक्त टोलीलाई विशेष विमान (चार्टर फ्लाइट)बाट नेपाल आउन अनुमति दिइएको छ,” उनले भने । 

संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरुपमा १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँबाटै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए । 

सरकारले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए । यसैगरी नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरिएको छ भने सहायक रथी अरुणकुमार पालको राजीनमा स्वीकृत भएको छ । 

सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो । साथै बैठकले संक्रामक रोग ऐन, २०२० अनुसार गत साउन ४ गतेको जनस्वास्थ्य तथा सुरक्षा पालना गर्ने गरी ‘भदौ १६ गतेदेखि सेवा तथा कार्य सञ्चालन गर्ने’ निर्णय परिमार्जन गर्दै त्यसलाई ‘असोज १ गतेदेखि’ हुने निर्णय गरेको छ । 

त्यसैगरी अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानबारे पनि सामान्य संशोधन गर्दै दैनिक ५०० यात्री ल्याउन पाउने व्यवस्थालाई ८०० पुर्‍याइएको डा खतिवडाले बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भने, “नेपाल आउनपर्ने अवस्थाका गैरआवासीय नेपालीलाई सम्बन्धित देशस्थित नेपालको कूटनीतिक नियोगको सिफारिसमा नेपाल आउन दिइनेछ ।”

नेपालमा अध्ययन गर्ने र परीक्षामा सामेल हुनुपर्ने विदेशी विद्यार्थीलाई कोरोना जिवाणुबाट संक्रमण नभएको ७२ घण्टाभित्रको प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्ने शर्तमा नेपाल आउन अनुमति दिने निर्णय सरकारले गरेको उनले जानकारी दिए । 

सरकारले नेपाल मेडिकल काउन्सिललाई जनस्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्ने शर्तमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ भने त्यस निम्ति आवागमनलगात सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने उनले बताए । 



लोकप्रिय समाचार
नयाँ