arrow

बजारको सिद्धान्तलाई नै मात खुवाउने नेपाली दुधको सिद्धान्त : बिक्री नभएपछि सडकमा पोख्ने, विकल्प के?

logo
पीबी चन्द,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
milk-duplicate.jpg

काठमाडौं । गत शनिबार भक्तपुरको सुर्यविनायकका एक डेरी सञ्चालकले किसानबाट खरिद गरेर ल्याएको दुध बिक्री नभएपछि सडकमा फालिदिए ।

पछिल्लो समय कोरोना भाइरसबाट जोगिनका लागि भन्दै सरकारले गरेको निषेधाज्ञाका कारण दुध बिक्री नभएपछि डेरी सञ्चालकले दुध नै सडकमा फालिदिए ।

बिक्री नभएपछि दुध सडकमा फालिएको यो पहिलो घटना भने होइन ।

यसअघि पनि काभ्रेका किसानले दुध बिक्री नभएपछि सडकमा फालेका थिए । त्यस्तै केही वर्षअघि कालीमाटी तरकारी बजारका व्यवासायीले गोलभेडा बिक्री नभएपछि सकडमा फालेका उदाहरण हामी सामु छन् ।

२०७५ पुसमा काउली बिक्री नभएपछि चितवनका किसान पुरन महतोले काउलीमा नै डोजर लगाएर नष्ट गरेको उदाहरण ताजै छ ।

यी उदाहरणले बजारको सिद्धान्त विपरित नेपाली सिद्धान्त लागु भएको दखिन्छ । अर्थात बजारको सिद्धान्तलाई मात खुवाएको देखिन्छ ।

बजारको सिद्धान्त अनुसार वस्तुको माग घटेपछि मूल्य पनि घट्ने गर्दछ । माग बढेपछि मूल्य पनि बढ्छ ।

वस्तुको माग घटेपछि मूल्य घटाएर बिक्री बढाउने कुराको वकालत बजारको सिद्धान्तले गर्दछ ।

तर, नेपाली बजारमा दुधको सन्दर्भमा बजारको सिद्धान्त कतिपनि मेल नखाएर आफ्नै ‘सडकमा पोख्ने’ सिद्धान्त लागु गरेको प्रष्ट छ ।

नेपाली बजारमा अहिले ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । यसको एक मात्रै कारण हो ब्रोइलर कुखुराको मासुको माग घट्नु ।

ब्रोइलर कुखुराको मासु लगायतका वस्तुको माग घट्ने वित्तिकै नेपाली बजारमा मूल्यमा पनि गिरावट आउँछ ।

त्यस्तै गोलभेडा लगायतका तरकारीमा पनि कहिलेकाँही माग घटेपछि मूल्य घटेको देखिन्छ ।

तर, दुधको माग घटेपछि मूल्य घटेको देखिँदैन ।

एक पटक मूल्य बढेपछि मागमा जति उतारचढाव आउँदा पनि त्यही मूल्यमा बिक्री गरिन्छ । बरु माग घटेपछि दुध सडकमा पोखिन्छ ।

किन यस्तो?

केन्द्रिय दुग्ध उत्पादन सहरकारी संघका अध्यक्ष नारायण देवकोटा भन्छन् ‘दुधको मूल्य सरकारले तोक्ने गरेको छ । एक पटक सरकारले मूल्य तोकेपछि त्यही मूल्यमा बिक्री गर्नु पर्छ । त्यसपछि सरकारले बिक्रीको अवस्था के कस्तो छ भनेर कहिल्यै बुझ्न चाँहदैन ।’

सरकारले बजारमा दुधको माग घटेको वा बढेको के कस्तो छ भनेर बुझेर त्यही अनुसार समय समयमा मूल्य पनि घटबढ गर्न/ गराउन सक्ने वातावरण बनाइदिएमा दुध सडकमा पोख्ने स्थिति नआउने देवकोटाले बताए ।

सरकारले दुग्ध विकास संस्थान (डिडिसी)ले गर्ने दुधको कारोबारको मूल्य अनुसार किसानले पनि बिक्री गर्ने भन्दै तोकिएका कारण कुनै बेला  दुधको लागत नै नउठ्ने अवस्था आएपछि कसैले सडकमा पोख्ने गरेको हुनसक्ने देवकोटाको भनाई छ ।

त्यस्तै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कहिले काँही पाउडर प्लान्ट पनि नचलेको र डेरीले पनि सबै दुध उठाउन सक्ने अवस्था नभएपछि किसानले दुध सडकमा पोख्ने गर्ने गरेका बताए । ‘सडकमा पोखेकै भन्ने कुरा कहिले काँही आउँछन्’ उनले भने, ‘पोख्नुका पनि विकल्प छन् । पोख्ने नै किन भन्या?’

विकल्प के?

सापकोटाले दुध सडकमा पोख्नुको सट्टा अशाय, अनाथलाई बाँडन सकेमा राम्रो हुने बताए । ‘पहिला पहिला बाटो हिँड्नेलाई दुध तताएर खुवाएको हामीले देख्यौं’ सापकोटाले भने, ‘त्यस्तोमा किसानको लगानी नउठ्ने भए पोख्नु भन्दा पनि आधा मूल्य घटाएर पनि कन्सिडर गर्नेतिर लाग्नु पर्छ ।’

त्यस्तै केन्द्रिय दुग्ध उत्पादक संघका अध्यक्ष देवकोटाले दुधको मूल्य तोक्न सरकारले किसानलाई नै छाड्नु पर्ने संकेत गरे । ‘सरकारले दुग्ध पदार्थ उत्पादनका लागि उद्योगहरु सञ्चालनमा ल्याएर खपत बढाउन सहयोग गरिदिनु पर्छ’ उनले भने, ‘किसानले आफैं मूल्य निर्धाण गर्न सकेमा पनि माग अनुसार किसानले मूल्यमा आफैं घटबढ गरेर सकडमै पोख्नु पर्ने स्थितिको अन्त्य गर्न सकिन्छ ।’



लोकप्रिय समाचार
नयाँ