नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले मंगलबारदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो ।
भारतमा मंगलबार भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ ।
झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो ।
सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ । यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।
भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो । मंगलबार भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन् ।
उनी केही दिनदेखि अचेत अवस्थामा थिए । कोमामा रहेका उनको सोमबार निधन भएको सो अस्पतालले घोषणा गरेको थियो । उनको राष्ट्रिय सम्मानका साथ मंगलबारै अन्त्येष्टि गरिने भएको छ ।
उनी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत भएका थिए ।