नेपालगञ्ज । पत्रकार दामोदर भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फ्रन्टलाइनमा खटिएर कोरोना कोरोना भाइरस (कोभिड-१९) को समाचार लेख्दालेख्दै पत्रकार भण्डारी आफैंलाई कोरोना पोजेटिभ देखिएको हो । हिजो विहानदेखि उनलाई ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या आएको थियो ।
रेडियो सद्भावका प्रबन्ध निर्देशक, सद्भाव दैनिकका प्रकाशक, सम्पादक तथा सेतोखरी डटकमका अध्यक्ष तथा सम्पादक समेत रहेका भण्डारीलाई हिजो दिउँसोदेखि एक्कासी बढी च्यापेको थियो । 'उहाँलाई उच्च ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ, १ सय १ डिग्रीसम्म ज्वरो आएको छ,' नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगीले भने।
डा.योगीको सल्लाह अनुसार उनी मंगलबार विहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए । हिजै पिसिआर टेस्ट गराउनुभएका भण्डारीको आज विहान कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।