काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले समयमा रासायनीक मल नल्याएर ओली सरकार थप बदनाम भएपछि अनन्तः मलको आपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर भएका छन् ।
मलको आपूर्ति गर्ने ठेक्का पाएका ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज लिमिटेड र होनिको मल्टिपल प्राइभेट लिमिटेडले समयमै मल नल्याएपछि मल आपूर्तिका लागि प्रधानमन्त्री ओलीले नै अग्रसर भएका हुन् ।
शैलुङ इन्टरप्राइजेज लिमिटेड प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । उक्त कम्पनी सडकका ठेक्का अलपत्र पारेर यसअघि देखि नै बदनाम कम्पनी हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले भदौ दोस्रो हप्ताभित्र मल ल्याउनेगरी शैलुङ र होनिको मल्टिपल प्राइभेट लिमिटेडलाई ठेक्का दिएको थियो ।
तर, हालसम्म मल खरिद समेत नगर्दा नेपाली किसानले मल नपाएर चरम समस्यामा परेका छन् ।
सिजनमै मल नपाइएको भन्दै ओली सरकारको कडा आलोचना समेत भइरहेको छ ।
यसैबेला ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई फोन गर्दै नेपालमा युरिया मल पठाइदिन आग्रह गरेका छन् ।
उनले मंगलबार एक ट्वीट गर्दै हसिनासँग सकारात्मक वार्ता भएको र मल उपलब्ध गराउन बंगलादेश सकारात्मक रहेको जानकारी गराएका छन् ।
कृषि सामाग्री कम्पनी लिमिटेडले मल समयमै आपूर्ति नगर्ने ठेकेदारलाई कारवाही गरिने आश्वासन दिएको छ ।