बाग्लुङ। मुक्तिनाथ संस्कृत गुरुकुल बाग्लुङ नगरपालिका ४ कुॅडुलेमा सबै जातजातिका विद्यार्थीएले पढ्न पाउनु पर्ने माग राखेर संघर्षमा उत्रिएका विश्व हिन्दु संगठन एशिया क्षेत्र प्रमुख प्राचार्य चन्द्रकान्त पौडेलमाथि सांघातिक आक्रमण भएको छ। उक्त आक्रमणप्रति संयुक्त दलित संघर्ष समिति बाग्लुङले विरोध जनाउँदै अभियन्ता पौडेलको अभियानमा एक्यवद्धता जनाएको छ।
पौडेलमाथि कथित धर्म गुरु स्वामी प्रपन्न भनिनेको अगुवाइमा भएको सांघातिक हमलाप्रति घोर भत्सना गर्दै सामाजिक संजालमा आएको भिडियोको आधारमा हमलामा सम्मिलित सबैलाई प्रचलित कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न संघर्ष समितिले सरकार समक्ष माग गरेको छ।
संघर्ष समितिको तर्फबाट संयोजक टिकाकुमारी विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्ति निकाल्दै मुक्तिनाथ संस्कृत पाठशाला बाग्लुंगमा मात्र होइन नेपाल भरीकै यस्ता पाठशाला तथा गुरुकुलहरुमा नेपालको शिक्षा ऐन अनुसार सबै जातजाति, भाषाभाषी र समुदायको मान्छेहरुले पढ्न पाउनु पर्छ भन्ने अभियानका मुख्य अभियन्ता प्राचार्य पौडेलको जीउज्यानको सुरक्षाको समेत माग गरिएको छ।
विज्ञप्तिमा संघर्ष समितिले बाग्लुंग लगायत नेपाल भरीका यस्ता गुरुकुलहरुमा सबै जातजातिका नागरिकलाई अध्ययन गर्ने ब्यबस्था मिलाउन माग गर्दै यदी माग पूरा नगरिए आन्दोलन गर्ने चेतावनी दिँदै अभियान्ता पौडेलको अभियानमा साथ दिनका लागि जिल्लास्थित नागरिक समाज, मानव अधिकारवादी संघ संस्था, राजनितिक दल, जनप्रतिनिधि र पत्रकारहरुलाई हार्दिक अनुरोध समेत गरेको छ।