काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थमा मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृद्धि हुनु भएको भन्दै नेविसंघले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
नेविसंघले महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भैरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाई थप पीडा दिन र चुलो बन्द गराउन उद्धत रहेको आरोप लगाएको छ ।
'यस्तो परिस्थितिमा सरकारले जनताको जीवन रक्षा मा ध्यान केन्द्रीत गर्दै सर्वसुलभ खाद्य समाग्री उपलब्ध गराउने र राहतको प्याकेज ल्याउनु पर्नेमा उल्टै जनताबाट रकम असुल गर्ने यस्तो निकृष्ट कार्य नेपाल विद्यार्थी संघलाई कदापि स्वीकार्य छैन । तसर्थ, सरकारले हिजो राति १२:०० बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ। सरकारले निरन्तर जनविरोधी निर्णय गरी लकडाउनको समयमा पनि जनतालाई सडकमा आउन बाध्य न वनाओस।,'अध्यक्ष राजिव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले भनेका छन्, ‘बारम्बार किन जनता मार्न खोज्दैछ सरकार ?? बिनाकारण पटक पटक गरिएको मुल्यबृद्धि खारेज गराउन नेपाल आयल निगम र नालायक सरकारका बिरुद्ध निर्णायक दबाबको विकल्प छैन ।’
'कोरोना संकटमा सरकारले गरेको लापर्बाहीका कारण निम्तीएको संकटले जनता रोग र भोकको चपेटामा छन्। अहिले जनता सरकार सँग राहतको अपेक्षा गरिरहेका छन्, यस्तोमा सरकार निषेधाज्ञा जारी गरि जनतालाई घरमा बन्दक बनाएर ढाँड सेक्ने गरी मुल्यवृद्धि गर्छ यो आपत्तिजनक छ।' महामन्त्री दीपक भटृराईले भने ।
प्रेस विज्ञप्ती
मितिः २०७७/०५/१७
कोरोनाको विश्व महामारीका कारण भएको पाँच महिना भन्दा बढी समयको बन्दाबन्दी (लकडाउन)ले जनताको दैनिक जनजीवन निकै कष्टकर बन्दै गईरहेको छ । न्यून आय भएका जनतालाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या पर्न थालेको छ । यसरी जनताको दैनिक जनजीवन निकै कष्टकर हुँदै गर्दा नेपाल सरकारद्वारा सञ्चालित नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक छ।
जनताले यत्रो विपत्ति को सामना गरी रहेको समयमा सरकारी संस्थानहरुले जनतालाई सहुलियत हुने काम गर्ने हो, यो समयमा पनि मुनाफा कमाउन लाग्ने हैन। यस्तो विषम परिस्थितिमा मूल्य वृद्धि गर्नु भनेको पीडामा रहेका जनतालाई झन पीडा दिई भोकमारी तर्फ धकेल्नु हो । सरकार बाहिर रहँदा सर्वहारा जनताको हकहितको मुद्दा उठाउने तर सरकारको नेतृत्वमा पुगेपछि गरिब, निमुखा जनतालाई बाँच्ने पनि अधिकार छैन भन्ने किसिमले ने.क.पा.को ओली सरकारले जनतामाथि गरेको व्यवहारको नेपाल विद्यार्थी संघ घोर निन्दा गर्दछ ।
यस्तो परिस्थितिमा सरकारले जनताको जीवन रक्षा मा ध्यान केन्द्रीत गर्दै सर्वसुलभ खाद्य समाग्री उपलब्ध गराउने र राहतको प्याकेज ल्याउनु पर्नेमा उल्टै जनताबाट रकम असुल गर्ने यस्तो निकृष्ट कार्य नेपाल विद्यार्थी संघलाई कदापि स्वीकार्य छैन । तसर्थ, सरकारले हिजो राति १२:०० बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ। सरकारले निरन्तर जनविरोधी निर्णय गरी लकडाउनको समयमा पनि जनतालाई सडकमा आउन बाध्य न वनाओस।
जय नेपाल !
.......................
राजिव ढुङ्गाना
अध्यक्ष