'कोरोना भाइरस कडा हुँदै गएको देखिन्छ, मंसिरसम्म संक्रमण अझै बढ्न सक्छ'
पुषसम्म संक्रमित एकलाख पुग्न सक्छन
प्रा. डा. प्रकाश बुढाथोकी
प्रकाशित २०७७ भदौ १८ बिहिबार
85
Shares
काठमाडौं। स्वास्थ्य सेवा विभाग टेकुमा सिनियर कन्सल्टयाण्ट रहेका प्राध्यापक डा. प्रकाश बुढाथोकी यतिखेर कोरोना संक्रमणका विरामीहरूको उपचार तथा संक्रमण नियन्त्रण तथा रोकथामकोलागि सरकारी निकायबाट भइरहेको काममा अग्रपक्तिंमा खटिएका छन् ।
स्वास्थ्य मन्त्रालयले उनलाई ललितपुर महानगरपालिका, प्रदेश २ तथा प्रदेश ५मा समन्वय गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पूरा गर्न उनी अहोरात्र खटिएका छन् । बुढाथोकी डाक्टरहरुको प्रतिनिधिमूलक संस्था नेपाल चिकित्सक संघको कोषाध्यक्ष पनि हुन् । यसअघि काठमाडौको वीर अस्पताल र काठमाडौं बाहिरका विभिन्न अस्पतालमा सेवा पुर्याएका उनले वीर अस्पतालको न्याम्समा प्राध्यापन पनि गर्छन् । हाम्राकुराले कोरोना महामारी लगायतका बिषयमा बुढाथोकीसँग कुराकानी गरेको छ। प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंशः
० नेपालमा कोरोना नियन्त्रणभन्दा बाहिर गएको हो ?
अहिले नै नेपालमा कोरना नियन्त्रणभन्दा बाहिर गएको छ भन्न सकिन्न । किनभने हामीले चालेका कदमहरु र परिक्षणको दायराहरुबाट कोरोना नियन्त्रणमै छ र नियन्त्रण गर्न सक्छौ भन्ने अवस्थामा छौं । तर प्रत्येक नागरिकले पनि आफ्नो तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्न उत्तीकै जरुरी छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कोरोना भित्र राजनीति गरे भने नियन्त्रणभन्दा बाहिर जाने अवस्था आउन सक्छ ।
० नेपालमा यस्तो अवस्था आउछ भनेर पहिले अनुमान गरिएको थियो ?
अनुमान गरिएको थियो । हामीले विचमा लकडाउन खुला गर्यौं । लकडाउन खुले पछि यती संख्यामा संक्रमण बढ्न सक्छ भन्ने अनुमान हामीले पहिले नै गरेका थियौं । तर हामीले अनुमान नगरेको एउटा के देखियो भने अहिले लक्षण भएका संक्रमणहरु बढी देखिएका छन् । पहिले ९९ दशमलब ७ प्रतिशत संक्रमित व्यक्तिलाई अस्पताल जान जरुरी थिएन । उनीहरुमा कोरोनाको लक्षण देखिएन । तर अहिले ठाउँ विशेष अनुसार वीरगञ्जमा ६० प्रतिशतभन्दा बढी संक्रमितहरुमा लक्षण देखिन थाल्यो । काठमाडौंमा ३० प्रतिशत संक्रमणमा लक्षण देखिन थाल्यो । हरेक दिन १२/१३ जनाको दरले निधन हुन थालेको छ । यती संख्यामा क्षति होला भनेर हामीले सोचेका थिएनौ ।
० सोचेको भन्दा बढी लक्षण देखिन थाल्यो भन्नुभयो । के कारण हो ?
भाइरसले जेनेटिक रुपमा आफू बाँच्नकोलागि आफैलाई बदल्दै गएको देखिन्छ । आफूलाई बदल्दै जाने क्रममा अलि बढी कडा खालको देखिएको हो कि भन्ने एउटा कुरा हो । दोश्रो कुरा पहिले संक्रमण भएका व्यक्तिहरु विदेशबाट आएका थिए । विदेशमा रोजगारीमा गएका र भर्खरैका युवाहरुमा संक्रमण देखिएको थियो । त्यतीखेर युवाहरु मात्र संक्रमति भएका थिए । उनीहरुमा रोगप्रतिरोध क्षमता बढी थियो । त्यसैले उनीहरुले भाइरसलाई जित्न सफल भए । उनीहरुमा लक्षण पनि देखिएन । तर लकडाउन खुले पछि भाइरस बोकेका व्यक्तिहरु अर्थात भाइरस घर घरमा छिर्यो । बालबालिका, जेष्ठ नागरिक र पहिलेदेखि नै रोग भएका व्यक्तिहरुमा संक्रमण सर्यो । उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भए पछि लक्षण देखिन थालेको हो ।
० तर पनि भाइरसको बारेमा नेपालमा वैज्ञानिक अध्ययन, अनुसन्धान त भएको छैन, होइन ?
नेपालमा त्यसको वैज्ञानिक अनुसन्धान भएको छैन तर इटली, बेलायत, चाइना तथा साउथ एशियामा फरक फरक प्रजातिका भाइरस देखिएका छन् । कोभिड १९का ६ वटा विभिन्न प्रजातिका भाइरस देखिएका छन् । ती मध्ये साउथ एशिया खासगरी नेपाल, भारतमा देखिएको प्रजाति सबैभन्दा कम क्षति पुर्याउने प्रजातिको भाइरस देखिएको हो।
० तर यसबारेमा अध्ययन गर्न आवश्यक छैन र ?
अध्ययन गर्न आवश्यक भइसकेको छ तर त्यसकोलागि त्यही अनुसार जेनेटिक ल्याव पनि चाहिन्छ । त्यसकोलागि थप उपकरणहरु, सामाग्री चाहिन्छ । नेपाल मेडिकल काउन्सिलले यसको लागि प्रयास गरिरहेको छ । उनीहरुको तहबाट केही अनुसन्धान भइरहेको छ ।
० अहिलेको यो अवस्था कहिलेसम्म जान्छ भन्ने अनुमान गरिएको छ ?
दशै, तिहार जस्ता चाडपर्व आउन बाँकी नै छ । ती चाड पर्वमा मान्छेहरु हिडडुल, भिडभाड र बसउठ हुने बढी सम्भावना छ । त्यसकारण दशै तिहारमा संक्रमण झन बढने स्थिति आउछ । नोभेम्वरसम्म यो अवस्था झनै बढ्न सक्छ । जनवरी, फेव्रेवरी लागे पछि स्थिति कम हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।
० त्यबेलासम्म संक्रमण कति सम्म पुग्ला ?
संक्रमणको बारेमा तीन किसिमबाट भन्न सकिन्छ । पहिलो कुरा जनताले सामाजिक दुरी पालना गरे, मास्क लगाए, साबुन पानीले हात धोए भने, या सबै नियम पालना गरे भने एउटा अनुमान रहन्छ । तर कति प्रतिशत मान्छेहरुले यो नियम पालना गर्छन, त्यसमा भर पर्छ । तर जनताले सामाजिक दुरी पालना गरेनन भने, मास्क लगाएनन भने हाम्रो देशमा पनि इटलीको झैं अवस्था नआउला भन्न सकिन्न । तर पनि हामीलाई विश्वास छ, नेपाली जनताले सामाजिक दुरी पालना गर्नुहुन्छ, मास्क लगाउनु हुन्छ र नियम पालना गराउन सरकार सक्षम छ भन्ने सोचेका छौं। त्यसैले नोभेम्वर डिसेम्वरसम्म संक्रमितको संख्या एक लाखको वरिपरि हुन सक्ने हामीले अनुमान गरको छौं ।
० त्यसबेलासम्म कोरोनाबाट निधन हुने संख्या कतिसम्म हुन सक्छ त ?
सामान्यता विश्वमै कोभिड महामारीको लक्षण हेदा ८५ प्रतिशत संक्रमित व्यक्तिलाई लक्षण नै देखिएको छैन । १५ प्रतिशतलाई लक्षण देखिएको छ । लक्षण देखिएकाहरुलाई अस्पताल भर्ना गर्नुपर्ने हो । त्यसमध्ये बढीमा ५ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने हो । त्यो हिसाबबाट हेर्दा २ देखि ३ प्रतिशत मृत्यदर देखिएको छ । मानौं एक लाखसम्म संक्रमण संख्या पुग्यो भने मृत्य ४ देखि ५ हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।
० नोभेम्बर,डिसेम्बर देखि कोरना हराउँदै जाने सम्भावना छ भन्नुभयो । त्यसपछि हराउँदै जानुपर्ने कारण के हो, खोपको कारणले हो ?
खोपको पनि एउटा कारण हो । अर्को कारण त्यती क्षति भए पछि हामीले पनि पाठ सिकौला । सामाजिक दुरी कायम गरौला । मास्क अनिवार्य गरौंला । सर्ट,पाइन्ट लगाए झै माक्स लगाउन सुरु गरौला । अर्को कुरा जाडो याममा रुघा खोकिसँग झुक्किने डर कम हुन्छ । फ्रेव्रुअरी पछि महामारी रहदैन भन्ने हाम्रो अनुमान छ । सबैभन्दा बढी संक्रमण नोभेम्बरमा देखिन्छ भन्ने हाम्रो अनुमान हो ।
० त्यसबेलासम्म नेपालमा खोप आउछ होला नि ?
नोभेम्बरसम्म खोप ल्याउन प्रयास भएको छ । छिटोमा नोभेम्बर हो । डिसेम्बर, जनवरीसम्म पुग्न सक्छ । नेपाल सरकारले खोप ल्याउन सक्ने, नसक्ने भन्दा पनि विभिन्न अन्तराष्ट्रिय निकायहरु डब्ल्युएचओ, बिल गेट्स फाउन्डेशन लगायत थुप्रै अन्तराष्ट्रिय संस्थाहरुले गरिब मुलुकलाई सहयोग गर्ने भावना देखाएका छन् । त्यबेलासम्म नेपालमा खोप आउँछ भन्ने हाम्रो अनुमान छ ।
० भनेपछि त्यसेबलासम्म लक डाउन लगाउनु एउटा मात्र विकल्प हो त ?
लकडाउन मात्र विकल्प होइन । जनताले सामाजिक दुरी कायम गर्ने, हात धुने र मास्क लगाउने नियम पालना गरे भने लकडाउन जरुरी छैन । त्यो नमान्दा त्यसको बिकल्प भनेको लकडाउन नै हो ।
० कोरोना नियन्त्रणमा सरकारले गरेको प्रयास पर्याप्त छ कि छैन ?
सबैभन्दा पहिले आफनो देश सम्झौ । विश्वको सम्पन्नशाली देशको तुलनामा मानव स्रोत, आर्थिक स्रोत चाहे हाम्रो सामाजिक व्यबहारको कुरा गरौ, ती सबै हिसाबबाट हाम्रो देशमा कोभिड बढ्ने सम्भावना बढी छ । किनभने हाम्रो समाजमा एउटा घरमा एक/दुई जना मात्र बस्दैनन । संयुक्त परिवार हुन्छ । आफनो मान्छे भनेपछि जतिसुकै रोगी भए पनि त्यो मान्छेप्रति सामाजिक सद्भाव रहन्छ । नेपाल यती गरिब हुँदाहुँदै पनि सरकारले जे जति गरेको छ, यसमा सरकारलाई धन्यबाद दिदै हामी आफू पनि जिम्मेवार हुनुपर्छ । सरकारले गर्छ र हामी जोगिन्छौ, हामीले केही गर्नु पर्दैन भन्ने सोच बनायौं भने हामी जोखिममा पर्छौ र मृत्यको मुखमा पर्छौ । सरकारले गरे पनि गरोस,नगरे पनि नगरोस तर म आफू जोगिन्छु, मेरो परिवारलाई म जोगाउछु, मेरो समाजलाई जोगाउछु भन्ने सोच राखेर मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने बानी बसाल्यौ भने हामी जोगिन्छौ । जहाँ पायो त्यही थुक्ने काम पनि हामीले गर्नु हुँदैन । यती गर्न सक्यौ भने, आफूलाई जोगाउन सक्छौ, आफनो समाजलाई जोगाउन सक्छौ र आफनो देशलाई जोगाउन सक्छौ ।
० तर केही डाक्टरहरुले मास्क लगाउनु झनै खतरनाक हुन्छ, मास्क लगाउँदा शरिरलाई अक्सिजन पुग्दैन, स्वास्थ्यलाई झन खतरनाक हुन्छ भन्ने कुरा गर्छन नि ?
उकालो चढ्दा या कसरत गर्दा हामीलाई अलिकति स्वाँस्वाँ हुने गर्छ । तपाईं एक्लै उकालो चढ्दै हुनुहुन्छ या एक्लै कसरत गर्दै हुनुहन्छ भने मास्क नलगाए पनि हुन्छ । तर छेउमा दोश्रो व्यक्ति छ भने मास्क लगाउनु पर्छ । स्वास फेर्न अलिकति गाह्रो भयो भन्ने ठूरो कुरा हो कि कोभिड लागिहाल्यो भन्ने कुरा ठूलो हो ? त्यसरी तुलना गरौ । तपाई एक्लै कसरत गर्दै हुनुहन्छ या दुई वर्षभन्दा कम उमेरको बच्चा छ भने त्यसलाई मास्क लगाउन जरुरत पदैन । तर भौतिक दुरी, हावाको भेन्टिलेशन र साबुन पानीले हात धुने बानी बसाल्नु जरुरी छ ।
० तपाई अहिले कोरोना नियन्त्रण र रोकथामको काममा कसरी खटिनु भएको छ ?
अहिले म स्वास्थ्य मन्त्रालयबाट ललितपुर महानगरपालिकामा समन्वय गर्ने जिम्मेवारी लिएको छु । यसैगरी प्रदेश २ र प्रदेश ५मा पनि समन्वय गर्ने जिम्मेवारीमा छु । ललिपुर महानगरपालिकमा फिल्डमै गएर काम गरेको छु । प्रदेश २ र प्रदेश ५ मा अन्य विभिन्न माध्यममार्फत समन्वय गर्ने काम गरीरहेको छु । ललितपुरका प्रत्येक वडामा कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ । यसकोलागि कार्यविधि पनि बनाएका छौं । प्रत्येक टोल र वडामा कोभिड फाइटर ग्रुप बनाउँदै छौ । यसले होम आइसोलेसन र होम क्वारेन्टाइनमा बस्नेहरुलाई सहयोग र समन्वय गर्नेछ । यसैगरी महानगरपालिकामा स्वाब कलेक्सनको सिस्टम मिलाउने, डाटा मेनेज्मेन्टको सिस्टम मिलाउने जस्ता काममा पनि हामी लागेका छौ । अहिले म स्वास्थ्य मन्त्रालय मातहतमा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा छु । यस महाशाखामा भएको हैसियतबाट देशभरका स्वास्थ्य संस्था तथा स्वास्थकर्मीहरुसँग समन्वय गरिरहेका छौ । त्यहाँ केही समस्या आयो भने समाधानकोलागि पहल गर्ने तथा समन्वय गर्ने हाम्रो जिम्मेवारी हो ।
० तर सबैभन्दा बढीमा जोखिममा त स्वास्थ्यकर्मी नै देखिए होइन ?
स्वास्थ्यकर्मीहरु जोखिममा पहिलेदेखि नै थिए । जुन व्यक्तिले कोभिडका विरामीको उपचार गरिरहेको हुन्छ, त्यो व्यक्ति जोखिममा हुनु स्वाभाविक नै हो । हामीले त्यसलाई त्यती ठूलो कुरा मान्दैनौ । त्यो भन्दा ठूलो कुरा समाजले हामीलाई हेर्ने जुन व्यवहार हो, यसबाट हामी ज्यादै नै संवेदनशील भएका छौ । यसलाई हामीले निकै नकारात्मक रुपमा लिएका छौ । जसले आफनो टोलमा, घरमा, गाउँमा स्वास्थ्यकर्मीलाई बस्न दिएका छैनन, त्यो व्यक्तिलाई कोभिड भयो भने या अरु कारणले उ अस्पताल जानुपर्यो र त्यही डाक्टर या स्वास्थ्यकर्मीले उसलाई उपचार गरे भने त्यस व्यक्तिलाई कस्तो हुन्छ होला भनी सोच्न हार्दिक अनुरोध गर्छु ।