काठमाडौं । नेकपाको अन्तरविरोध समाधानका लागि बनेको सुझाव कार्यदलको प्रतिवेदनप्रति वरिष्ठ नेता माधव नेपालले ९ प्रश्न उठाएका छन् । अधिकांश बुँदाहरु सच्याउने पर्ने भन्दै असहमति व्यक्त गरेका नेपालले मूलत पार्टी विधानको उल्लंघन भएको भन्दै नौ प्रश्न उठाएको स्रोतले जनाएको छ ।
‘ नेता नेपालले कार्यदलको प्रतिवेदनमाथि संक्षिप्त धारणा राख्नु भयो । मूलतः विधानको धारा ४६ र ६०ले गरेको व्यवस्थाप्रति कार्यदल मौन रहेको र अहिले समस्या पन्छाउने गरी आएको विषयमा उहाँको असहमति थियो सायद यही विषयमा अबको बैठक केन्द्रीत हुनेछ,’ सचिवालयका एक सदस्यले भने । उनका अनुसार वरिष्ठ नेता नेपालले एक व्यक्ति एक जिम्मेवारीको विषय, पार्टीको बैठकको निर्णय कार्यान्वयनको सवाल र कस्का कारणले पार्टीमा विवाद उत्पन्न भएको हो त्यो विषयलाई अमूर्त ढंगले कार्यदलको प्रतिवेदनमा सुझाव भनेर राखिएको उल्लेख गर्दै प्रतिवेदन सच्याउनु पर्ने बताएका थिए ।
‘प्रतिवदेनका धेरैजसो बुँदाहरु अमूर्त छन्, अपूर्ण छन्। पार्टी विधानको धारा ४६मा उल्लेख गरिएको प्रतिवेदनमा कुनै उल्लेख गरिएको छैन त्यसलाई सच्याउने कि त्यतिकै छाडिदिने, पार्टीभित्र विधि पद्धति र समस्याको विषयमा कुरा उठाउने नेता कार्यकर्तालाई शत्रुवत व्यवहार गरिएको छ यो विषय पार्टीभित्र कसरी छलफल गर्ने, कार्यदलको प्रतिवेदनमा कार्यकारी अधिकारको कुरा गरिएको छ त्यो अमूर्त छ मुलतः भन्ने शब्दलाई कसरी प्रयोग गरिन्छ, कमिटीको निर्णयको अर्थ राख्छ कि राख्दैन?’, नेता नेपालको प्रश्न थियो ।
नेपालले पार्टीमा देखिएको समस्यालाई पन्छाउने तरिकाले कोही कसैलाई छुट नभएको धारणा राख्दै पार्टीमा पटक पटक गरिएका निर्णयहरु किन कार्यान्वयन भएनन कसका कारणले कार्यान्वयनको चरणमा पुगेनन भन्दै पार्टी सञ्चालन र निर्णयमा कस्का कारण गतिरोध उत्पन्न भएको यो विषयलाई व्याख्या गरेर प्रतिवेदन सच्याउनु पर्ने बताएका थिए ।
नेता नेपालले सरकार सञ्चालनमा पार्टीले सुझाव दिने हो कि भ्रष्टाचार भएको विषयमा पार्टी टुलुटुलु हेरेर बस्ने भन्दै सरकारमा बसेर भ्रष्टाचार भएको भन्ने बाहिर आवाज आउदा समेत किन छानवीन हुन सकेको छैन भनेर प्रश्न उठाएका थिए । उनले यो विषयमा कार्यदल मौन रहेको बताउदै प्रदेश सरकार राजनीतिक नियुक्ति गर्दा भागवण्डा लगाएर गर्ने हो कि विधि र मापदण्ड तय गरेर नियुक्ति गर्ने हो यो बारेमा प्रतिवेदन सच्याएर पार्टीको कमिटी छलफल गरेर निर्णय गर्नुपर्ने विषयमा समेत जोड दिएका थिए।