काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा बिहीबार राति नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन बनेको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले भिलेन खेलेपछि खेल अवरुद्ध भएको हो । खेलमा टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहँदा वर्षा भएको थियो ।
खेल रोकिनुअघि प्याट्रियट्सले ५.४ ओभर खेल्दै विकेटको क्षति बिना ४६ रन बनाएको थियो ।
इभान लेविसले २१ तथा क्रिस लिनले २३ रन बनाएका थिए । सन्दीपले भने एक बल पनि फाल्न पाएनन् ।
यसअघि खेलेका ७ खेलमा हरेक खेलमा विकेट लिँदै विकेट संख्या १० बनाएका सन्दीपले यो खेल रद्द भएपछि भने विकेटको सिरिज तोडिएको छ ।
खेल नतिजा विहीन सकिएसँगै दुबै टिमले १–१ अंक पाएका छन् ।
जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।