काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले विभिन्न विभाग विस्तार गरेकोप्रति आपत्ति जनाएका छन् ।
उनले ती विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्नेहरुलाई समेत पनि आक्रोश पोखेका छन् । सामाजिक संजाल फेसबुकमा उनले नेताका पुच्छर वेथितिका साक्षी भएको भन्दै कटाक्षसमेत गर्न भ्याएका छन् ।
शुक्रबार बिहान उनले हाम्राकुरासँगसमेतको कुराकानीमा ‘विधान मिच्नु हुँदैन भनेर एक जनाले भन्न सकेनन्, कसरी कुन नैतिकताले यी अरुको विरोध गर्दछन् ?’ भनी प्रश्न गरे ।
उनले भने, ‘यो सानो कुरा हो । अहिले नै जताततैबाट बधाई खाइरहेका छन् । खुशी बाँडिरहेका छन् । यिनीहरुले ठूला पद पाउँदा के गर्लान् ?’
उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको इतिहासले हामीलाई बक्सिस लिन भन्दा कर्म गर्न अभिप्रेरित गर्दछ। पूर्वीय दर्शनमा यसका धैरै ज्वलन्त उदाहरण छन् । अहिले नेपालमा विधि र विधानको गफ आफुले अवसर नपाउँदासम्म गरेको प्रमाणी भइरहेको छ । अवसरको प्राप्तिको लागि जे गर्दा नि हुन्छ किनकि पदको बैतरणी तर्न चाहने गफाडीको लाम लामो छ । त्यसैले त खाली खाम बाँडिरहेका छन् । बधाई लिइरहेका छन् ।’
नेता डा. भण्डारीले कांग्रेसले कोरोनालाई भुलाएर विभाग गठन गरेको भन्दै कटाक्षसमेत गरेका छन् ।
उनले भनेका छन्, ‘देशका आशा लाग्दा नेता भनेर गनिएका युवाहरुले शेर बहादुर देउवाले विधान विपरित काम गर्दा एक शब्द बोल्न सकेनन् बरु आफ्नो जिम्माको नामावली प्रकाशित गर्न हतार गरे ।’
उनले थप कटाक्ष गर्दै भनेका छन्, ‘पुराना तर विचार र चिन्नमा पुराना भएका कलमहरु छानेकाहरु आफैमा प्रजातन्त्रवादी रहेनछन् ।’
कांग्रेसको चौधौं महाधिवेशन फागुनमा गर्ने तय भए पनि अहिलेसम्म कुनै पनि प्रक्रिया पूरा भएका छैनन् । सक्रिय कार्यकर्ताको लिष्ट समेत तयार भएको छैन ।
गत फागुनमै महाधिवेशन गर्नुपर्ने सभापति देउवाले मिति नाघिसकेपछि पनि विभिन्न विभागहरु गठन गरेर आफ्नालाई फकाउने काममा लागेपछि नेता भण्डारीले नेतृत्वको आलोचना गर्दै आएका छन् ।
उनीसहित कांग्रेसका युवाहरुको समूहले नेतृत्वले विधान मिच्दै आएको भन्दै असन्तुष्ट व्यक्त गर्दै आइरहेको छ । अबको कांग्रेसलाई युवाले हाँँक्नुपर्ने चर्चा पनि हुँदै आएको छ । तर युवा नेता पनि विभिन्न गुटको पछि लागेर कुँदिररहेको आरोप लाग्ने गरेको छ ।