arrow

मर्स्याङ्दीमा खसेको ट्रक अझै भेटिएन, चालक र सहचालक बेपत्ता

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ १९ शुक्रबार

पोखरा । गत बुधबार बिहान मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको ट्रक अझै फेला पर्न सकेको छैन । पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २८०२ नं को मिनिट्रक मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको थियो ।

तनहूँ प्रहरीका अनुसार सोही ट्रकका चालक सर्लाहीका २२ वर्षीय पञ्चलाल सेङताङ र सहचाहलक सर्लाहीकै २० वर्षका सुवास बमजन पनि हालसम्म बेपत्ता छन् ।

ट्रक पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट मर्स्याङ्दी नदीमा खसेको हो । ट्रक सडक छेउको आठ–नौ वटा कल्भर्ट भाँचेर नदीमा खसेको थियो ।

नदीमा पानीको बहाव ठूलो भएकाले खोजी कार्यमा निकै कठिनाई भएको जिल्ला प्रहरी कार्यालय तनहूँका डिएसपी युवराज तिमिल्सिनाले बताए । 

उनका अनुसार गोताखोरको टोलीले नदीमा ट्रकको खोजी कार्य जारी राखेको भए पनि पानीको बहाव ठूलो भएकाले फेला पार्न सकिएको छैन ।

‘खोजी कार्य जारी छ र पानीको बहाव कम भएपछि फेला पार्ने आशमा छौं’, उनले भने । ट्रक धनी राजकुमार श्रेष्ठ आएर रिपोर्ट दिएकाले ट्रक हराएको नै हो भन्ने पुष्टि भएको डिएसपी तिमिल्सिनाले बताए ।



लोकप्रिय समाचार
नयाँ