काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सरकार धर्म संस्कृति र परम्परा विरुद्ध नियोजित रुपमा लागि परेको बताएका छन् । धर्म, संस्कृति र परम्पराको संवेदनशिलतालाई सरकारले बुझ्न नसक्दा बिहिबार ललितपुरमा रथ तान्ने क्रममा दुःखद घटना हुन पुगेको भण्डारीको आरोप छ।
सरकारको प्रत्येक कदमले कम्युनिष्ट चरित्रको वास्तविकता उजागर गरेको समेत भण्डारीले बताए।अहिलेको स्वास्थ्य समस्याबाट सुरक्षित पनि रहने र मौलिक परम्परा पनि जोगिने गरी रथयात्रालाई निरन्तरता दिन भण्डारीले आग्रह गरेका छन् ।
श्रद्धालु भक्तजन र कर्तव्य पालनाको सिलसिलामा खटिएका प्रहरी घाइते हुनु दुःखद रहेको जनाउँदै उनले रथयात्राको परम्परा एवं सस्कृति नेपाल र नेपालीको सभ्यता,पहिचान र ईतिहासको प्रतिविम्ब रहेकोले मौलिक परम्परा पनि जोगिने गरी रथयात्रालाई निरन्तरता दिन माग गरेका छन्।
गुठी विधेयकको नाममा काठमाडौंको मौलिक परम्परा एवं विशिष्ट सम्पदा माथि प्रहार गर्न खोज्दा उर्लन पुगेको जनलहरका अगाडी सरकार घुँडा टेक्न बाध्य भएको स्मरण गराएका छन्।
सोह्र श्राद्ध सुरु भएको यो बेलामा पितृहरुको सम्झना, श्रद्धा तथा उनीहरुको आत्माको शान्तिको कामना गर्ने महत्वपूर्ण धार्मिक तथा वैदिक परम्परालाई पनि कुण्ठित गर्न सरकार प्रयासरत रहेको उनले बताए ।
सरकारले सोह्रश्राद्ध सुरक्षित रुपमा गर्नका लागि आवश्यक प्रबन्ध मिलाएर परम्परा जोगाउन सहयोग गर्नुपर्नेमा विभिन्न अवरोध सिर्जना गर्ने वा मायावी रुपमा (भर्चुअल माध्यमबाट) सोह्र श्राद्ध गर्न अपिल गर्नु हाम्रो धर्म, मौलिक परम्परा तथा संस्कारको मर्मलाई आत्मसात गर्न नसक्नु रहेको उनले बताए ।
वर्तमान सरकारले नेपालको मौलिक परम्परा, धर्म र संस्कृति माथि गर्दै आएको नियोजित प्रहार असह्रय अवस्थामा पुगिसकेको उल्लेख गर्दै भण्डारीले अमूल्य परम्परा, संस्कृति र सनातन धर्मप्रति संवेदनहिन भएर प्रस्तुत हुदै आएको यो सरकारप्रति जहिलेसुकै जनताको धैर्यको बाध फुटन सक्ने तथ्यप्रति सचेत गराएका छन्।
नेपाल र नेपालीका मौलिक परम्परा, सभ्यता र संस्कारलाई कोरोना भाईरसको वहानामा ध्वंस गर्ने संकुचित मनसाय सरकारले देखाएको उल्लेख गर्दै भण्डारीले आगामी दिनमा जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन्।