पोखरा । पोखरा महानगरमा कोरोना संक्रमण बढ्न थालेपछि तीन वटा वडा सिल गर्ने निर्णय गरिएको छ । पोखरा– १०, १२ र १३ का क्षेत्रमा कोरोनाको उच्च जोखिम रहेकाले बन्द गर्ने निर्णय गरिएको हो ।
वडाजनप्रतिनिधिको आज बसेको संयुक्त बैठकले कोभिड– १९ को प्रकोप वडाको समुदायस्तरसम्म देखापरेको स्थितिलाई ध्यानमा राखी कोरोनालाई नियन्त्रण बाहिर जान नदिन सो निर्णय गरिएको वडाध्यक्षहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । विज्ञप्ति जारी गर्नेमा वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ १२ का रामबहादुर कार्की र १३ का लेखबहादुर तामाङ छन् ।
विज्ञप्तिमा भदौ १९ गते बेलुका १२ बजेदेखि २६ गते रातिसम्म उक्त वडाका स्वर्णिम, अन्नपूर्ण, लालीगुराँस टोल, भद्रकाली हुँदै ढिकाले थर, कुँडहर हुुँदै मियाँपाटनसम्मका सबै क्षेत्रलगायत आसपासकाका क्षेत्र सिल गरिएको जनाइएको छ ।
वडा कार्यालयले बिहान ११ देखि २ बजेसम्म अत्यावश्यक खाद्य पदार्थ, स्वास्थ्यजन्य सेवा, अत्यावश्यक क्रियाकलापमा छुट दिने तथा अनिवार्य मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरेको छ ।