पदनाम कविराज निरीक्षक झा ६ महिनादेखि घर बसी बसी तलब भत्ता बुझ्दै
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७७ भदौ २० शनिबार
32
Shares
दार्चुला। जिल्लाको मालिकार्जुन गाउँपालिकामा पर्ने उकु आयुर्वेद औषधालय जौलजिवीका पदनाम कविराज निरीक्षक शुभाष झाले विगत ६ महिना देखि घर बसेरै तलब भत्ता बुझ्दै आइरहेको खुल्न आएको छ । जनताले तिरेको करबाट सेवा सुविधा लिइरहेका पदनाम कविराज निरीक्षकलाई सरकारले मालिकार्जुन गाउँपालिकाको जौलजिवीस्थित आयुर्वेद औषधालयमा पठाएको भए पनि उनी गत फागुन ११ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् ।
फागुनदेखी हालसम्म कार्यालयमा एकदिन पनि उपस्थित नभएका उनलाई मालिकार्जुन गाउँपालिकाले गत असारसम्मको तलब र स्थानिय भत्ता सबै खुवाई सकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसिंह धामीले बताए । जौलजिवीको आयुर्वेद औषधालय अहिले कार्यालय सहयोगीको भरमा संचालनमा छ । उक्त कार्यालयको कार्यालय प्रमुखका रुपमा रहेका कविराज निरीक्षक झा विगतदेखि नै विभिन्न बहाना बनाएर घरमै बसी तलब बुझ्ने गरेको समेत खुल्न आएको छ ।
विगत ६ महिनादेखी कार्यालयका प्रमुख झा कार्यालयमा उपस्थित नभएपछि कार्यसम्पादन तथा कार्यालयबाट स्थानियले पाउनुपर्ने सेवा पाइरहेका छैनन् । कोरोना महामारीका बेला स्वास्थ्यकर्मी जस्तो पदमा बसेका कविराज निरीक्षकले आफुलाई कसैले केहि गर्न नसक्ने बताउदै आइरहेको पनि खुल्न आएको छ । कोरोना महामारीका बेला अन्य स्वास्थ्यकर्मीहरु रातदिन नभनेर खटिरहेको अवस्थामा उनी भने आरामले घरमा बसिरहेका छन् ।
पदनाम कविराज निरीक्षक झा विगत ६ महिना देखी कार्यालयमा उपस्थित नभएको तथा कारबाहीको प्रकृयाका बारेमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आफुलाई त्यो बारे जानकारी नभएको जनाए । उता कविराज निरीक्षक झाले लकडाउनका कारण यातायातका साधनहरु चल्न नसक्दा घरबाट आउन नसकेको बताएका छन् ।