काठमाडौं । नेपालका स्पीन बलर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–२० क्रिकेट (सीपीएल) मा फेरि पराजित भएको छ ।
अहिलेसम्म भएका ९ खेलमा जमैकाले शनिबार राति पाँचौं हारको सामना गर्यो । जमैका बार्बाडोस ट्राइडेण्ट्ससंग ७ विकेटले पराजित भयो ।
सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गर्दै १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।
जमैकाले दिएको १६२ रनको लक्ष्य बार्बाडोसले १८.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।कप्तान जसन होल्डरले ६९ रन बनाए । होल्डरलाई सन्दीपले बोल्ड गरेका थिए ।
सन्दीपले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए । यो अन्य बलरको तुलनामा राम्रो इकोनोमी रेट हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ४ विकेटको नोक्सानीमा १६१ रन बनाएको थियो ।
ओपनर चमेली ब्ल्याकउडले ७४ रन बनाए । आन्द्रे रसेलले ५४ रन बनाए ।
सन्दीपको स्थिति
सन्दीपले खेल पूरा भएका सबै खेलमा विकेट लिएका छन् । उनले ८ वटै खेलमा विकेट लिएका छन् ।
उनले ५ खेलमा १–१ तथा ३ खेलमा २–२ विकेट लिएका छन् । एक खेल भने वर्षाले पूरा हुन नपाउँदा रद्द भएको थियो । सन्दीपले ८ खेलमा ११ विकेट लिएका छन् ।
जमैकाको स्थिति
अब जमैकाले लिग चरणमा एक खेल खेल्न बाँकी छ । यसअघि नै सेमिफाइनलमा पुगेको जमैका समूह चरणमा चौथो स्थान भन्दा माथि उठ्न नसक्ने देखिएको छ ।
जमैका ९ खेलबाट ७ अंक सहित चौथो स्थानमा रहेको छ ।
जमैकाले अब सेमिफाइनलमा शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
अर्को सेमिफाइनलमा गुएना एमेजन वारियर्स र सेन्ट लुसिया खेल्नेछन् ।