बेइजिङ । चीन र भारतबीचको सीमा विवाद बढ्दै जाँदा दुबै मुलुकले आफ्ना अत्याधुनिक लडाकू विमानहरु विवादित सीमा क्षेत्र नजिकै एयरबेसमा तैनाथ गरेका छन् ।
फोर्ब्सको एक रिपोर्ट अनुसार वाणिज्यिक स्याटेलाइट तस्बिरलाई उदृत गर्दै दुई चिनियाँ जे २० लडाकूहरू विमानहरु पश्चिमी सिन्जियाङस्थित होटान एयरबेसमा देखिएका थिए । यो एयरबेस विवादित सीमा क्षेत्र अक्साइ चीनबाट सबभन्दा नजिक अर्थात ३२० किलोमिटरको दूरीमा छ ।
जुनदेखि चिनियाँ र भारतीय सेना बीचमा गल्वान उपत्यकामा विभिन्न पटक तानातानी भएको छ भने जुन १५ मा हिंसात्मक झडप नै भएको थियो ।
यसैबीच भारतले लद्दाखमा पाँच नयाँ डसोल्ट राफेल लडाकू विमानहरू पठाएको हिन्दुस्तान टाइम्सले जनाएको छ । राफेल लडाकू विमानहरूले हिमाञ्चल प्रदेशको पहाडी भूभागमा उडान अभ्यास गरिरहेको बताएको छ ।
भारतीय वायुसेनाले २०१६ मा फ्रान्ससँग गरेको सम्झौता अनुसार सन् २०२० मा उक्त शक्तिशाली लडाकू विमानहरु ल्याएको हो ।
दुबै छिमेकी मुलुकहरु विश्वमा आफूलाई अग्रपंक्तिमा राख्न चाहन्छन् । सैन्य विज्ञहरुका अनुसार जे-२० लडाकू विमानका कारण हवाई सैन्य मामिलामा चीन माथि थियो । यसको गति निकै तीव्र हुन्छ भने यसलाई राडरले पछ्याउन पनि सक्दैन ।
जुलाई २९ मा भारतसँग पनि एकल र दुई सिट क्षमताको राफल लडाकू विमान आएसँगै चीनसँग भारतसँग प्रतिष्पर्धात्मक क्षमता बढेको छ । भारतले हालै ल्याएको राफेलमा सक्रिय इलेक्ट्रोनिक स्क्यानर रहेको छ जस्ले जे-२ लाई विभिन्न मौसममा ट्र्याक गरेर टार्गेट गर्न सक्छ ।