अमलेखगञ्ज । बढ्दो कोरोना संक्रमणकाबीच नेपालमा अधिकांश सरकारी तथा नीजि कार्यालयले दिने सेवा बन्द छन् । अत्यआवश्यक कार्यालयहरु खुल्न दिने निर्णय भए पनि सोचे अनुरुप सेवा दिन सकिरहेका छैनन् ।
नेपाल आयल निगमले देशभरका कार्यालयहरु खोलेर निरन्तर सेवा प्रवाहमा गरिरहेको जनाएको छ । निगम स्वयंमका कर्मचारी कोरोना संक्रमित हुँदा पनि बैकल्पिक कर्मचारीको व्यवस्था गरेर भए पनि सेवा संचालनमा अवरोध आँउन नदिएको बताएको छ । हुन त निगमले दिँदै आएको पेट्रोल, डिजेल वितरण लगायतका सेवा अत्यावश्यक सेवा भित्र नै पर्छन् । अत्यावश्यक सेवालाई सरकारले कोभिड १९ को महामारी नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि सूचारु नै राखेको जनाए पनि अधिकाशं कार्यालयहरुले पूर्ण रुपमा सेवा दिन सकिरहेका छैनन ।
पेट्रोलियम पदार्थ आपूर्ति र वितरणको काम आफ्ना कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुँदा पनि निर्वाध सुचारु भइरहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताएका छन् । उनले भने जहा समस्या देखिन्छ हामी केन्द्रबाट बैकल्पिक कर्मचारीहरु खटाएर भएपनि सेवामा अवरोध हुन दिएका छैनौ । कतिपय ठाउँमा आइसोलेशनको व्यवस्था गरेर होटलमा नै छुट्टै राखेर पनि डिपो संचालनमा ल्याइरहेको बताए । उनले भने संक्रमित कर्मचारीहरुको अवस्था बुझ्न तथा अन्य कर्मचारीहरुलाई हौसला मिलोस भनेर भैरहवा, अमलेखगञ्ज तथा बिराटनगर लगायतको डिपोहरुमा म आफै पुगेर तत्काल देखिएका समस्या समाधानको लागि पहल गरेर सनिवार मात्र काठमाडौ फर्किएको बताए ।
निगम अन्तरगत भैरहवा कार्यालय मातहतका कार्यालयमा ११ जना कर्मचारी र वीरगञ्ज तथा अमलेखगञ्जमा ६ जना गरी कुल १७ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर, त्यसबीचमा समेत सेवामा कुनै अवरोध आएन । निगमका भैरहवा कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने, ‘११ जनामा कोरोना संक्रमण देखिनाथ यहाँका कार्यालय सटडाउन गरेर अमलेगञ्जबाट आपूर्ति गर्न थाल्यौं ।’
भैरहवा डिपो अन्तरगतका कर्मचारीमा कोरोना देखिएपछि निगमले स्थानीय होटेललाई भाडामा लिएर कर्मचारीलाई आइसोलेसनमा राखेको थियो । कोरोना संक्रमित कर्मचारी र सम्पर्कमा आएका कर्मचारी आइसोलेसनमा बसेपछि निगमको केन्द्रीय कार्यालयबाट कर्मचारी खटाएर सेवा प्रवाहलाई निरन्तरता दियौ ।
त्यस्तै निगमको अमलेगञ्ज डिपो अन्तरगत पेट्रोलियम ढुवानी गर्ने चालक समेत गरेर ८३ जनामा कोरोना परिक्षण गर्दा ६ जनामा पोजिटिभ देखिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । कर्मचारीलाई आइसोलेसन, क्वारेन्टाइन लगायतमा राखिए पनि सेवा प्रवाहमा कुनै कठिनाई नआएको रेग्मीले हाम्राकुरालाई बताए । ‘हाल सबै जना निको भइसकेका छन् । दोस्रो पटक गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । तै पनि मापदण्ड अनुसार उनीहरु आइसोलेसनमा बसिरहेका छन्’ रेग्मीले भने, ‘आइसोलेसनमा बसेको समयमा निगमको केन्द्रीय कार्यालयबाट १० जना पठाइएको थियो । उनीहरु शुक्रबार फर्किसकेका छन् ।’
हाल भैरहवा र अमलेगञ्ज कार्यालय अन्तरगत कोरोनाका पोजिटिभ देखिएका सबै कर्मचारी निको भइसकेका छन् ।विराटनगरमा पनि ४२ जना कर्मचारीको कोरोना परिक्षण गराउँदा पोजिटिभ कसैको नदेखिएको विराटनगर कार्यालय प्रमुख नकुल भण्डारीले जानकारी दिए । ‘५ पटक टेष्ट गराउँदा कसैलाई पनि पोजिटिभ देखिएन । नदेखिनु खुसीको कुरा हो’ भण्डारीले भने, ‘तेल आपूर्तिमा समस्या आउने कुरै भएन ।’