काठमाडौं । कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले मल नल्याउने ठेकेदारलाई कारवाही गर्ने तयारी गरेको छ ।
प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालाको कम्पनीले मलको ठेक्का हत्याएर मल नल्याएपछि किसान समस्यामा परेको भन्दै दुवै ठेकेदारलाई कारवाही गर्न चैतर्फी दबाब बढेपछि मन्त्रालयले दुवै ठेकेदारलाई कारवाही गर्ने तयारी गरेको हो ।
अधिकारीको शैलुङ इन्टरप्राइजेज र कोइरालाको होवीको मल्टिपल कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रालयका ती अधिकारीका अनुसार आइतबार मलको ठेक्का दिने सरकारी निकाय कृषि सामाग्री कम्पनी लिमिटेडले दुवै निकायलाई कालोसूचीमा राख्न मन्त्रालयलाई सिफारिस गरेको हो ।
नेकपाका नेता प्रचण्डका घरबेटीले यसअघि देखि नै विभिन्न ठेक्कामा यसरी नै लापरवाही गर्दै आएकाले शक्तिको आडमा उनलाई कारवाही गर्न सकिएको छैन ।
अहिले पनि कृषि तथा पशुपञ्छि विकास मन्त्रालयको नेतृत्व नेकपाकै नेता घनश्याम भुसालले गरिरहेकाले कारवाही हुनेमा आशंका रहेको जानकारहरु बताउँछन् ।
तर, मन्त्री घनश्याम भुसालले आइतबार बेलुका ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कारवाहीको विषयमा जानकारी गराउने समेत मन्त्रालयका ती अधिकारीको भनाई छ ।