arrow

९ दिनमा थपिए १० हजार संक्रमित, आइतबार उपत्यकामा ३५४ सहित कहाँ कति भेटिए ?

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । नौ दिनअघि कोरोना संक्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको थियो ।    

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार थपिएका संक्रमितमा पुरुष ६९० तथा महिला २९० छन् । 

हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार ८१४ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार ३४५ को पिसीआर परीक्षण गरिएको छ । 

देशभर हाल १७४ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । वागमती प्रदेशमा १०९ जनाको अति सघन कक्षमा र २१ जनाको भेन्टिलेटरमा, प्रदेश नं १ मा नौ जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, प्रदेश नं २ मा २८ जनाको अति सघन कक्षमा, प्रदेश नं ५ मा २० जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच जनाको अति सघन कक्षमा तथा कर्णालीमा तीन संक्रमितको अति सघन कक्षमा उपचार गरिँदै छ । 

हाल देशभर १७ हजार २७ सक्रिय संक्रमित छन् । हाल सात हजार ८२६ संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढी प्रदेश नं २ मा तीन हजार ५०० संक्रमित होम आइसोलेसनमा छन् । यस्तै वागमती प्रदेशमा दुई हजार ३३६, प्रदेश नं ५ मा ९७८, प्रदेश नं १ मा ७४३, सुदूरपश्चिम प्रदेशमा १२६, गण्डकी प्रदेशमा १०० तथा कर्णालीमा ४३ कोरोना संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।   

चौबीस घण्टामा कहाँ कहाँ कति भेटिए संक्रमित 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा एक–एक जना, झापामा २६, मोरङमा २९, संखुवासभामा छ तथा सुनसरीमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै प्रदेश नं २ को धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा तीन, रौतहटमा आठ, सप्तरीमा ११, सर्लाहीमा पाँच तथा सिरहामा छ जनामा कोरोना देखिएको छ । वागमती प्रदेशको काठमाडौँमा २९०, काभ्रेपलाञ्चोकमा एक, चितवनमा ३०, दोलखामा सात, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक तथा सिन्धुलीमा दुई जनामा कोरोना पुष्टि भएको छ । 

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा पाँच, तनहुँमा सात, नवलपरासी पूर्वमा १२, लमजुङमा दुई, बागलुङमा तीन तथा स्याङ्जामा २२ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा चार, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १९, प्युठानमा चार, बर्दियामा छ, बाँकेमा छ र रुपन्देहीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । 

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा दुई, जुम्लामा पाँच, दैलेखमा दुई र सुर्खेतमा ४४ जनालाई कोरोना संक्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन, कैलालीमा २१, अछाममा ११, डडेल्धुरामा दुई तथा बझाङमा १० जनामा कोरोना पुष्टि भएको छ ।  

काठमाडौं उपत्यकामा थपिए ३५४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ३५४ कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएकामध्ये काठमाडौँका २९०, ललितपुरका ३२ तथा भक्तपुरका ३२ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या आठ हजार २५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ६२४, ललितपुरमा ९१९ तथा भक्तपुरमा ७११ कोरोना भाइरसबाट संक्रमित भएका छन् ।   

एकै दिन कोरोनाबाट नौको मृत्यु  
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २८९ पुगेको छ । 

प्रवक्ता गौतमका अनुसार काठमार्डौँमा ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७ वर्षीय पुरुष, धनुषामा ३५ वर्षीय पुरुष तथा चितवनमा ७० वर्षीय पुरुष रहेका छन् ।    



लोकप्रिय समाचार
नयाँ