arrow

पशुपति शवदाहगृहमा खरानीका लागि हारालुछ !

logo
यमुना भण्डारी, 
प्रकाशित २०७७ भदौ २१ आइतबार
pashupati-aaryaghat.jpg

काठमाडौं । पशुपति आर्यघाट जाँदा कति जनाले ख्याल गर्नु भएको छ ? शव जलाउने भन्दा मुन्तिर केही व्यक्तिहरु आधा पोलिएको दाउरा थुपारिरहेका हुन्छन् । फोटोमा देखिएको काला दाउराको थुप्रो शव जलाउँदा प्रयोग भएकै दाउराको हो । शव जलाउनेले खोलामा खसाल्छन् । बग्दै केही तल पुगेपछि संकलन गर्नेहरुले टिप्छन् र, थुप्रो बनाएर राख्छन् । 

अब यो दाउरा कहाँ जान्छ ? के फेरि अर्को शव जलाउन प्रयोग हुन्छ ? हुँदैन ! किनभने एकपल्ट शब जलाएको दाउरा अरुले लाँदैनन्, प्रयोगमा आउँदैन । हुन त अहिले विद्युतीय शव दाह गृह पनि छ, पशुपति आर्यघाटमा । तर, त्यहाँ कोरोना संक्रमणबाट मृत्यु भएकाको संस्कार गर्ने भएका कारण अन्यले दाउराले नै शव जलाउने गरेका छन् । 

आधा जलेको अर्थात् शब जलाएको यो दाउरा कहाँ जान्छ ? संकलन गर्नेहरुका अनुसार यो काठमाडौं उपत्यकाका इटा भट्टामा जान्छ । उनीहरु भन्छन्, ‘यो दाउरा यता काम आउँदैन । ‘जुठो’ मानिन्छ । इटा भट्टामा इटा पोल्न काम आउँछ ।’

नजिकै बसिरहेका केहीले भन्दै ठट्टा गर्दै भने, 'उसो भए यो दाउराले पोलेको इटा पनि ‘जुठो’ हुने होला नि ! हामी त्यही इटा राखेर पूजा पो गर्छौँ त ।’ तर, होइन शास्त्र एवं उपनिशद्मा ब्राह्मणको मुख र आगो कहिल्यै अशुद्ध हुँदैन भनिएको छ भने विज्ञानले पनि अग्निमा पोलिएका वस्तु विषाणु अर्थात् जीवाणुरहित भन्दछ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार एकपल्ट प्रयोग भएको दाउराको कोषसँग वा घाटसँग कुनै सम्बन्ध रहँदैन । तर, केही स्थानीयले आफ्नो गुजाराको लागि दाउरा संकलन गर्छन् । भारी पुगेपछि इटा भट्टाका मान्छेले गाडीमा हालेर लान्छन् । संकलनकर्ताले दाउरा लैजानेबाट केही रकम पाउँछन् ।

इटा भट्टाले यो दाउराको गोल अर्थात् कोइला दुरुपयोग गर्ने गरेको कुरा पनि सुनिन्छ । विगतमा काठमाडौं उपत्यकाका सेकुवा व्यापारीको चुल्होमा यही दाउरा पुगेको भनेर समाचार आइरहन्थे । त्यति मात्रै होइन मकै पोल्नेहरुकहाँ पनि यो दाउरा पुग्ने गरेको कुरा आउँथ्यो । मूर्ति बनाउने र सुनका काम गर्ने ठाउँमा पनि आर्यघाटमा शब जलाएको दाउरा पुग्ने गरेको भनेर पनि समाचार आएकै हुन् । पहिले बौद्धतिरका गलैचा कारखानाले रंग पकाउन यही दाउरा लाने गरेको त पक्का हो । अहिले भने इटा भट्टाले मात्रै लान्छ, भन्छन् संकलनकर्ताहरु । 

विद्युतीय शव दाहगृह आएपछि भने यो दाउराको भारी पुग्न धेरै समय लाग्ने गरेको छ। कोरोनाका कारण अन्यलाई विद्युतीय शवदाह गृहमा ठाउँ नदिइएकाले अहिले केही दाउरा थुप्रिएको हो, पशुपति क्षेत्र विकास कोषका एक पदाधिकारीले भने, ‘सामान्य अवस्थामा त, विद्युतीय शव दाहगृह नै बढी प्रयोगमा आउँछ ।’ 
पशुपति आर्यघाटमा वर्षेनी करोडौँको दाउरा आउँछ । र, शव जलाउनेले मूल्य तिरेर किन्नुपर्छ । तर, शव जलाएर बचेको दाउरा पनि काठमाडौंको शहर डुल्दो रहेछ । इटा भट्टाले यसको दुरुपयोग गरिरहेका कुरा पटक–पटक आएपनि यसको अनुगमन भएको देखिन्न । 

खरानीका लागि हारालुछ
शब जलाएको दाउराको कथा एउटा भयो । त्यो भन्दा रोचक छ, खरानीको कथा । विद्युतीय शव दाह गृहमा शव जलाउँदा शेषको रुपमा खरानी मात्रै बच्छ । हो, त्यही खरानीका लागि मान्छेहरु लुछाचुँडी  गर्छन् । पशुपति क्षेत्र विकास कोषका एक पदाधिकारीले भने, ‘खरानी मलाई दिनुस्, मलाई दिनुस् भनेर झगडा नै गर्न आउँछन् ।’ शव जलाएको खरानी के काम ? उनले भने, ‘कामै नलाग्ने भए किन त्यस्तो मारामार गर्थे होलान् मान्छेहरु ।’ के गर्छन् त खरानी लिएर ? जवाफमा उनी भन्छन्, ‘खोलामा पोख्छन् ! बगाउँछन् ।’ कुरा गर्दै जाँदा उनले अन्तिममा कुरा खोले । सुन भेटिन्छ भनेर खरानीका लागि हारालुछ गर्ने गरेका हुन् । भेटिन्छ त सुन ? ‘खरानी लिनेहरुले राम्रै थुपारिरहेका छन्’ उनले हाँस्दै भने । 

७० जनासम्म मलामी 
अहिले कोरोना महामारी चलिरहेको छ, विश्वव्यापी । नेपालमा पनि दैनिक मान्छे मरिरहेका छन्, कोरोनाले । कोरोना संक्रमण रोकथामका लागि भनेर सरकारले देशभर निषेधाज्ञा लागू गरेको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनिएको छ । अरु त छोडौँ मृत्यु संस्कारमा समेत थोरै व्यक्ति मात्रै उपस्थित हुन भनिएको छ । सामान्य अवस्थामा पनि दैनिक शव दाहका लागि भीड भइरहने पशुपति आर्यघाटमा यस्तो परिस्थितिमा कुनै सावधानी अपनाएको देखिन्न । थोरै व्यक्तिमात्रै अन्तिम संस्कारमा सहभागि हुनु भनिए पनि एकै व्यक्तिको मलामी गणना गर्दा झण्डै ७० पुगे । पशुपति क्षेत्र विकास कोषले भने एक जनाको मलामी १५ जना भन्दा धेरै नहुने जिकिर गरेको छ । धेरै वटा शव आउँदा सबैका मलामी गणना गर्दा संख्या बढी देखिनु स्वभाविक भएको कोषका पदाधिकारीको जिकिर छ । 



लोकप्रिय समाचार
नयाँ