काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती भव्यताका साथ मनाउने भएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सोमबार एक विज्ञप्ति जारी गरी जननायक बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर भव्यताका साथ मनाउन नेविसंघ जिल्ला समितिलाई निर्देशन दिनुभएको हो । नेविसंघले बिपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट बिपी कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी भव्यताका साथ मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ ।
यस्तै नेविसंघले अविरल वर्षासँगै गएको बाढी, पहिरोका कारण विस्तापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ । अध्यक्ष ढुङ्गानाले सामाजिक दूरी कायम राखेर बिपी जयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रह समेत गर्नुभएको छ ।