arrow

कांग्रेस सभापति देउवालाई खुलापत्र

तपाईँको नाममा मत दिएर ब्यक्त गरेको विश्वास, आस्था र भरोसा आज किन धुमिलो भएको छ?

logo
किशोरदत्त बराल,
प्रकाशित २०७७ भदौ २२ सोमबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

आदरणीय सभापतिज्यू
जय नेपाल । 
केही दिन अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूलाई सम्वोधन गरेर एउटा पत्र लेखेको थिएँ । त्यो पत्र लेख्दा शब्दहरु त्यति धेरै लरबराएका थिएनन्, मन अमिलो भएको थिएन । तर आज त्यस्तो हुन सकेन । तपाईंलाई सम्बोधन गरेर पत्र लेख्दा शब्दहरु चिप्लिएका छन् र कलम सम्हालेर लेख्न पनि कठिन भएको छ । आखिर पत्र पत्र नै हो तर पनि यति धेरै फरक अनुभूति किन भइरहेको छ ? मलाई थाहा छ, यो प्रश्नको जवाफ खोज्न त्यति सजिलो अवश्य पनि छैन । तर पनि खोज्नु पर्ने भएको छ । असजिला प्रश्नहरुको जवाफ खाली राख्ने हो भने समाजको गति अवरुद्ध हुने खतरा अत्यन्त प्रबल रहन्छ । समाजको गतिलाई अवरुद्ध गर्ने दुस्साहस गर्न सकिन ।

जव माथि उल्लेखित प्रश्नको जवाफ खोज्दै थिएँ तपाईप्रतिका मेरा विश्वास, आस्था र भरोसाहरु अगाडि आएर टक्क अडिए । मलाई घिसारेर यिनीहरुले नेपाली कांग्रेसको तैह्रौं महाधिवेशनको मतदान केन्द्रतर्फ लिएर गए जहाँ मैले उच्च सर्तकताका साथ मतपत्र समातेर तपाईँको नाममा छाप लगाउँदै थिएँ । म झस्किएँ । तपाईँप्रति मैले गरेका विश्वास, आस्था र भरोसाहरुले मलाई गिज्याए । म पानी पानी भएँ । बल्ल थाहा भयो कसैप्रति गरेका विश्वास, आस्था र भरोसाहरु हराउँदा शव्दहरु लर्वराएर चिप्लिँदा रहेछन् र मन अमिलो हुँदोरहेछ । 

विश्वास यति धेरै कमजोर हुन्छ भन्ने कुरा मलाई लागेकै थिएन । मैले कसैको बहकाउमा लागेर वा आफ्नो स्वार्थपूर्तिका लागि तपाईँलाई अन्धाधुन्ध विश्वास गरेको पनि थिइन । तपाईप्रतिको मेरो विश्वास अत्यन्त साँचो थियो । साँचो विश्वासको जग स्थिर र बलियो हुन्छ भन्ने थियो मलाई । तर आज सर्वत्र विश्वास भत्किएको अनुभूति भइरहेको छ । एकैछिन सोच्नुहोस् त तपाईंले विश्वास गर्नुभएको व्यक्तिले तपाईँको विश्वास विपरीत काम गर्यो वा तपार्इँलाई उसको काम, कर्तव्य र व्यवहारले निराश बनायो भने तपाईँ के गर्नुहुन्छ ? तपार्इँको विश्वासमाथि कसैले निरन्तर प्रहार गरिरहँदा त्यसको चोटको गहिराइ कस्तो हुन्छ होला ? यी प्रश्नहरुको चित्तबुझ्दो जवाफ पाउन सक्ने हो भने म धन्य हुने थिएँ । 

मैले तपाईंलाई सभापतिमा मतदान गर्दा लागेको थियो अब नेपाली कांग्रेसको रुप परिवर्तन हुन्छ । पार्टी भित्रको गुटगत राजनीतिको अन्त्य भएर पार्टीले एउटा नयाँ उचाई तय गर्दछ । म त यतिसम्म सोच्दथे कि मेरो मतमत्रले तपाईँलाई नेपाली कांग्रेसको नेता मात्रै होइन कांग्रेस भित्रको पार्टीगत घेरालाई तोडेर राष्ट्रिय नेताको गरिमामा स्थापित गराउँदछ । प्रजातान्त्रिक आन्दोलनमा रहेको तपाईँको लामो र सक्रिय संलग्नता, पटक पटक प्रधानमन्त्री भएको तपाईँको अनुभव, प्रजातन्त्र प्राप्तिको लडाइँमा तपाईँले खानु भएको हण्डर र अपमान तथा लण्डन स्कूल अफ इकोनोमिक्समा पढ्नु भएको तपाईँ शिक्षा आदिको जगमा टेकेर मैले तपार्इँलाई त्यति धेरै विश्वास गरेको थिएँ । डडेल्धुराको त्यस्तो विकट गाउँमा हुर्कनु बढ्नु भएको तपाईँ नेपाली कांग्रेसको मात्रै होइन समृद्ध नेपालको सपना देखेर राजनीतिमा आउनु भएको हो भन्ने अर्को ठूलो विश्वास थियो मलाई । आज आएर मलाई लागिरहेको छ मैले तपार्इँलाई विश्वास गर्नु गलत थियो वा तपाईँले आफूलाई वुझ्न गलत गर्नु भो यसको निक्र्यौल गर्न मलाई धेरै कठिन भएको छ । 

कहिलेकाहिँ आफैँलाई सोध्दछु मानिस यति धेरै कमजोर किन हुन्छ ? आफ्नो जिम्मेवारी वहनमा मानिस किन यति धेरै लर्वराउछ ? मानिसलाई कमजोर बनाइन्छ कि उसले स्वयम् आफूलाई कमजोर बनाउने वातावरण निर्माण गर्दछ ? यी र यस्ता थुप्रै प्रश्नहरु मेरो मथिंगलमा सधैँभर घुमिरहन्छन् । मेरो यो स्वभावका कारण मैले तपाईँलाई यी प्रश्नहरु सोधे भने मलाई साथीहरुले कामै गर्न दिनुभएन भन्ने तपाईँको सहज जवाफ हुन सक्दछ भनेर म अनुमान गर्न सक्छु । के तपाईँको यो जवाफ सबैका लागि चित्तवुझ्दो जवाफ हुन सक्दछ ? के नेता हुनु वा नेतृत्व लिनु भनेको अरुलाई दिने जवाफ खोज्नका लागि मात्रै हो ? के नेताका आफ्नै नीति, योजना, कार्यक्रम र दृष्टिकोणहरु हुँदैनन् ? नेपाली कांग्रेसलाई गति दिने गरी तपाईंले त्यस्ता कुन कुन कार्यक्रम र दृष्टिकोणहरुलाई सार्वजनिक गर्नुभयो जसलाई तपाईंसँग विमति राख्नेहरुको विरोध वा असहमतिका कारण त्यसलाई कार्यान्वयन गर्न तपाईलाई कठिन भयो ? यदि तपाईले पार्टी र देशलाई गतिवान बनाउने गरी तपाईँका विचार र दृष्टिकोणहरुलाई सार्वजनिक गरिदिनु भएको भए त्यसमाथि हुने विरोधको जवाफ आम कार्यकर्ताहरुले नै दिने थिए भन्ने सामान्य कुराको पनि तपाईले किन हेक्का राख्न सक्नु भएन ?  तपाई त पार्टी र देशका पक्षमा आफ्नो विचार, दृष्टिकोण र कार्ययोजनाको निर्माण गरेर त्यसको कार्यान्वयनको पक्षमा अहोरात्र खट्नुपर्नेमा केवल केन्द्रीय पदाधिकारीहरु, सदस्यहरु र विभागको गठनमा मात्रै केन्द्रित भएर कार्य गर्न र गराउन खोज्दा तपाईलाई विरोध गर्ने वातावरणको निर्माण भएको हो ।

तपाईले आफूलाई व्यक्तिगत लाभका लागि वा राजनीतिमा आफूलाई लामो समय सम्म टिकाइ राख्नका लागि धेरै ठाउँमा धेरै प्रकारका अस्वाभाविक समीकरणहरु गर्न पुग्दा पार्टी भित्रका तपाईँका विरोधीहरुलाई विरोध गर्ने मौका मिलेको हो । पार्टी भित्रका तपाईँका विरोधीहरुको विरोध तपाईको मिसन, कार्यक्रम वा विचार माथि थिएन, व्यक्तिगत स्वार्थपूर्तिका लागि तपाईंले गरेका कार्यहरु र व्यवहारहरुमाथि थियो । तपाईँले के कुरा ध्यान राख्नै पर्दछ भने तपाईंको उचाईको नेतालाई औसत नेता तथा कार्यकर्ताको तहवाट सोच्ने र काम गर्ने सुविधा हुनै सक्दैन । त्यसमा पनि तपाईँ हिजैदेखि आफ्नो कार्य समितिमा बहुमतमा हुनुहुन्थ्यो, सहमतिको आधारमा काम हुन नसके बहुमतको आधारमा निर्णय गरेर काम गर्नका लागि बाटो फुकाउन तपाईँको हातमा शहीदका रगतले लत्पतिएको नेपाली कांग्रेसको विधान थियो । यसलार्ई समयमा नै प्रयोग गरेर पार्टीलाई गति दिने चातुर्यता, परिपक्कता र पार्टीप्रतिको इमान्दारिता तपाईँले देखाउनु पर्ने थियो । तर यसको विपरीत नेपाली कांग्रेसको १४औँ महाधिवेशनको घोषणा पश्चात् मात्रै पार्टीका अधिकांश विभागहरु गठन गर्ने हतारो देखाएर पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरुलाई मात्रै होइन आम सर्वसाधारणलाई समेत लज्जित बनाइदिनु भएको छ । यिनै साथीहरुलाई हिजै विभागहरुमा नियुक्ति गर्ने वातावरणको निर्माण गर्न सक्नु भएको भए आज साथीहरुमा कस्तो उत्साह आउँथ्यो होला ? साथीहरुको मर्यादा र सांगठनिक गति कति माथि हुन्थ्यो होला ?  यी र यिनै परिस्थितिहरुको बीचवाट फेरि पनि तपाईंले अर्को प्रश्नको पनि जवाफ दिनुपर्ने भएको छ, हिजो पार्टीभित्र तपाईसँग असहमति राख्नेहरुको विरोधका कारण नियुक्ति गर्न नसक्नु भएका यी साथीहरुलाई आज के उनीहरुको सहमतिमा नियुक्ति गर्नु भएको हो ? यदि यसो होइन भने झण्डै ५ वर्षसम्म पार्टीका विभिन्न तह र तप्काहरुलाई नेतृत्वविहीन बनाउँदा नेपाली कांग्रेसको संगठनमा भएको क्षतिपूर्ति अब कसले भर्ने ? तपाईँले ? पार्टीभित्र तपाईँसँग असहमति राख्नेहरुले ? वा अरु कसले ? 

पार्टीका एउटा जिम्मेवार नेताले झनै गर्नै नहुने अर्को डरलाग्दो गल्ति पार्टीको महाधिवेशनको मुखमा आएर तपाईले गरिदिनु भएको छ । यदि गोविन्दराज जोशी र पुष्करनाथ ओझा लगायतका नेताहरुले पार्टीको हित विपरित गलतनै गर्नु भएको भए पनि गलत गर्ने उहाहरुलाई अनुशासनको कार्यवाही गर्न यति लामो समय किन कुर्नु परेको ? के अव उहाँहरुलाई गरिएको अनुशासनको कार्यवाही संगै पार्टी भित्र अनुशासन कायम हुने सुनिश्चितता निर्माण भएको हो ? पार्टी संगठन भित्र लामो समय काम गरेका आफ्ना समकालिन साथीहरुलाई अनुशासनको डण्डा लगाएर निकाल्ने र अन्य व्यक्तिहरुलाई पार्टी भित्र भित्राउदा आम कार्यकर्तामा जाने सन्देश के हो ? त्यसको जवाफ तपाईलाई मतदान गर्ने हामीहरुले दिनु पर्छ कि पर्दैन ? 

धेरै लामो बोल्न नरुचाउने तपाईंलाई लामो पत्र लेख्न हुन्न भन्ने कुरामा सचेत हुँदाहुँदै पनि पत्र लामो हुन थालेछ । यसैले लेख्नुपर्ने धेरै कुराहरु छुट्न गएकोमा क्षमाप्रार्थी छु । कार्यकर्ताहरुको असहमति र गुनासो सुन्ने सामथ्र्य नेताको महत्वपूर्ण विशेषताअन्तर्गत पर्ने विश्वव्यापी मान्यतालाईलाई सम्मान गर्दै  अन्य थप कुराहरु पनि सुन्ने रुची राख्नुभयो भने अर्को पत्रमा छिटै भेट हुने नै छु । यसैले अन्त्यमा दाजुलाई के कुरा भनु भने अहिले यतिखेर नेपाली कांग्रेसको १४ औ महाधिवेशनको चहलपहल अलि अलि बढ्न थालेको छ । यो चहलपहलमा तपाईँको नाम पनि स्वभाविक रुपमा मिस्सिएर आएको छ । १४ औं महाधिवेशनमा तपाई सभापतिमा लड्ने वा नलड्ने यो तपाईँको अधिकारको कुरा भयो र मैले पनि तपाईँलाई मतदान गर्ने वा नगर्ने यो पनि मेरो मताधिकारको कुरा भयो तर पनि माथि उठाईएका प्रश्नहरुको जवाफ दिएर राजनीतिमा कुनै पनि नेता आफ्नो पार्टी, कार्यकर्ता र समाजप्रति उत्तरदायि हुनु पर्दछ भन्ने संस्कारलाई स्थापित गराई दिनुहोला । दुनियाँले सुन्ने गरी भनिदिनुहोला अब नेपाली कांग्रेसको सभापति गुटको आधारमा होइन नीति, विचार, दृष्टिकोण र कार्यक्रमको आधारमा हुन्छ । यदि सक्नुहुन्छ भने हिम्मत गरेर भनिदिनु होला ए युवाहरु हो ! नेपाली कांग्रेसको नेतृत्व लिन सपना बोकेर आऊ, कार्यक्रम नीति, दृष्टिकोण र भरोसा बोकेर आऊ । परिपक्कतापूर्वक भनिदिनु होला अब २१ औँ शताब्दीले  मलाई हैन तिमीलाई खोजेको छ ।  
हवस् त धन्यवाद् । जय नेपाल ।

किशोरदत्त बराल
महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस, कास्की 
तथा 
केन्द्रीय सदस्य
नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
नेपाली कांग्रेस ।



लोकप्रिय समाचार
नयाँ