पोखरा । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ का ६३ वर्षीया एक महिलाको मृत्यु भएको हो ।
उनको आइतबार बिहान ९:१५ बजे काठमाडौं गाउनीस्थित विरेन्द्र अस्पतालमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
ब्रेन ट्युमर तथा मृगौलाको समस्याबाट पीडित उनमा यही भदौ १९ गते कोराना संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।
यसैगरी पोखरामा मंगलबार पनि पाँच जना संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष हुन् । पोखरा महानगरपालिका वडा नं. १२ मा दुई जना, वडा नं. १४, १५ र २७ मा एक एक जना संक्रमित भेटिएको डा. शर्माले जानकारी दिए ।
यस्तै नवलपरासी पूर्वमा पनि छ जना संक्रमित भेटिएको छ । उनीहरु सबै गैडाकोटका हुन् । योसंगै गण्डकी प्रदेमा कुल संक्रमितको संख्या २६ सय १२ जना पुगेको छ ।