arrow

सर्वोत्कृष्ट नभेटिए पनि पहुँचवालाले पाए निजामती पुरस्कार, कोरोनाविरुद्ध खटिएकाहरु हेरेको हेर्‍यै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
nijamati.jpeg

काठमाडौ। निजामती दिवसको अवसर पारेर सोमबार घोषणा गरिएको निजामती पुरस्कारमा ठूलो विभेद भएको छ । कोरोना महामारीविरुद्ध खटिएका कर्मचारीलाई पुरस्कारमा वेवास्ता गरिदा धेरैजसो पहुँचवाला कार्यालयका कर्मचारीहरुले भने पाएका छन् । 

सरकारले सोमबार ४० जना निजामती कर्मचारीलाई पुरस्कारको घोषणा गरेको थियो, तीमध्ये १० जना कर्मचारीलाई उत्कृष्ट निजामती पुरस्कार र ३० कर्मचारीलाई निजामती पुरस्कार दिने घोषणा गरिएको छ । उत्कृष्ट कर्मचारीको पुरस्कार १ लाख र निजामती पुरस्कार ५० हजार राशीको हुन्छ । पुरस्कार पाउनेहरुमा कोरोना महामारीविरुद्ध अहोरोत्र खटिएका कर्मचारी पछिल्लो प्राथमिकतामा परेका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई पुरै वेवास्ता गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग, अर्थ मन्त्रालय, कोलेनिका जस्ता पुहँचवाला कार्यालयका कर्मचारीलाई नुछाटाइ कार्यालय पिच्छे पुरस्कार दिइएको छ । 

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुमध्ये एक जना कर्मचारीलाई मात्र पुरस्कार दिइएको छ । टेकु अस्पतालमा कार्यरत उषादेवी देवकोटालाई भने पुरस्कारमा समेटिएको छ । पुरस्कार पाउनेहरुमा स्वास्थ्य क्षेत्रमा कार्यरत एक जना डाक्टरको पनि नाम परेको छैन । ‘यस वर्ष दिनरात नभनी कोरोना महामारीविरुद्ध खटिएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राख्नु पर्‍थ्यो ’ नेपाल निजामती कर्मचारी युनियन (संघ)का सचिव नवराज पाण्डले भने,‘तर सरकारले कोरोनामहामारीविरुद्ध खटिएका कर्मचारीलाई वेवास्ता गरेको देखियो ।’

पुरस्कार पाउनेहरूमा संघीय मामिला तथा सामान्य मन्त्रालयका कर्मचारीहरु धेरै छन् । पुरस्कार छनौट समितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य हुने कानुनमा व्यवस्थाको फाइदा भएका कारण संघीय मामिलाका कर्मचारी प्राथमिकतमा बढी परेका छन् । छनौट समितिको संयोजक मुख्यसचिव हुने प्रावधान छ । मुख्यसचिव संयोजक रहेको पुरस्कार छनोट समितिले जात, भूगोल जस्ता समावेशीको सिद्धान्तलाई पनि वेवास्ता गरेको छ । ‘काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुपर्छ भन्ने सिद्धान्तलाई पूरै बेवास्ता गरिएको देखियो’ स्वास्थ्य क्षेत्रमा कार्यरत एक कर्मचारीको गुनासो छ । 

अर्को रमाइलो कुरा के छ, करिब एक लाख निजामती कर्मचारीहरुबाट सरकारले एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । एक लाख कर्मचारीहरुमध्ये एक जना पनि सर्बोत्कृष्ट कर्मचारी भेटाउन नसकेको लगतार ४ वर्ष भएको छ । पछिल्लो पटक २०७३ सालमा सर्बोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गरिएको थियो । उक्त पुरस्कार तत्कालिन अर्थ सचिव शान्तराज सुबेदीलाई दिइएको थियो । सर्बोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्दा सोमलाल सुबेदी मुख्यसचिव थिए । तर २०७३ देखि सर्बोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्न छोडिएको छ । अहिलेसम्म भाइकाजी तिवारी, सुर्य गौतम लगायतले सर्बोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् ।

सर्बोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा नहुनमा ४ वर्षसम्म पनि सर्बोत्कृष्ट कर्मचारी नभेटिएर हो कि सरकारले उक्त रकम बराबरको पुरस्कार दिन नचाहेको हो ? निजामती क्षेत्रमा सरकारमाथि एउटा गम्भिर प्रश्न उठाइएको छ । प्रशासनवीदहरू भने पुरस्कार छनौट गर्ने पद्धती नै फेर्नुपर्ने बताउँछन् । संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने सर्बोत्कृष्ट निजामती पुरस्कार छनौट गर्ने आधार तयार नभएकोले पुरस्कार घोषणा नगरिएको बताएका छन् ।

काठमाडौ जिल्लामा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भने यस पटक एक लाख रुपैयाँ बराबरको उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गरिएको छ । दाहाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी मानिन्छन् । निजामती सेवा ऐन २०४९ जारी भएको सम्झनामा हरेक वर्षं भदौ २२ गते निजामती दिवस मनाउने गरिएको छ ।  



लोकप्रिय समाचार
नयाँ