arrow

डा. शेखर कोइरालाको प्रश्न – कांग्रेस अहिले प्रतिपक्षमा बसेको हो कि हैन ?

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अहिले प्रतिपक्षमा बसेको हो कि हैन भनी शंका उब्जिएको बताएका छन् । 

उनले कम्युनिष्टसँगको सहकार्य कति हदसम्म अगाडि बढ्नुपर्ने हो भन्दै विचार विमर्श गर्नुपर्नेसमेत बताएका छन् । 

विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा एक एफएमलाई बुधबार बिहान प्रतिक्रिया दिने क्रममा कोइरालाले वर्तमान कांग्रेस नेतृत्वको भूमिका शंकास्पद भएको बताएका हुन् । 

उनले विपीले कम्युनिष्टसँग निश्चित दूरीमा रहनु पर्ने बताउँदै आएको समेत सम्झिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेको आरोप लाग्दै आएको छ । 

देउवा पटक पटक प्रधानमन्त्री निवास बालुवाटार जाने आउने गरेका प्रसंग चलिरहेका छन् । 

अर्को एक प्रसंगमा डा कोइरालाले आजका युवाहरु कुनै न कुनै गुटमा नेताहरुको फेरो समातेर अगाडि बढेको भन्दै दुःख पोखे । उनले अनुभवी नेतृत्वसहित युवाहरुको जमात अगाडि आउनु पर्नेमा जोडसमेत दिएका छन् । 

डा कोइरालाले अबको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न कार्यकर्ताले कसलाई रुचाउँछ भन्ने भएको समेत स्पष्ट पारेका छन् । 

उनले विपी पुत्र (डा शशांक कोइराला) वा गिरिजा पुत्री (सुजाता कोइराला) वा आफू वा गणेशमान पुत्र (प्रकाशमान सिंह) वा महेन्द्र नारायण निधी पुत्र (विमलेन्द्र निधी) वा शेरबहादुर देउवा अरु कोही जो पनि नेतृत्वमा आउन सक्ने भन्दै विरासत भन्दा कार्यकर्ताको मत जता जान्छ त्यतै जानुपर्ने बताए । 

मनपरी शैलीमा सक्रिय कार्यकर्ताको बाँडफाँड भएको भन्दै डा कोइरालाले आपत्तिसमेत जनाएका छन् । यसले कांग्रेसभित्र विकृति र विसंगति ल्याउने बताए । 

देउवाको शैलीप्रति कटाक्ष गर्दै कोइरालाले देउवाले गलत काम गरेको, विधान मिचेर अगाडि बढेको भन्दै अब त विधानमै एक कार्यकाल भन्दा बढी केन्द्रीय नेतृत्व बनाउन नहुने गरी संशोधन गर्नुपर्ने अवस्था आएको बताए । 

डा कोइरालाले रसुवामा सभापति देउवाले कांग्रेस समाप्त पार्ने खेल रचेको पनि आरोप लगाए । उनले कांग्रेस समाप्तिको खेलतिर देउवा लागेको आरोप लगाए । 

डा कोइरालाले देउवा सानेपाको केन्द्रीय सभापतिको कुर्सीमा रहिरहन गलत काममा अगाडि बढेको पनि बताए । मनपरी तन्त्र गर्ने हो भने निर्वाचन समितिको अर्थ के रह्यो भनी प्रश्नसमेत गरेका छन् । 

कांग्रेसको महाधिवेशन फागुनमै गर्नुपर्ने भन्दै उनले पटक पटक मिति सार्नु गलत हुने पनि उनले बताए । डा कोइरालाले जिल्ला, क्षेत्र, प्रदेशबाटै मतदान गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । 



लोकप्रिय समाचार
नयाँ