काठमाडौं। जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलले स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभाग र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।
तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागलाई १ हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागलाई १ हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड प्रदान गरेको हो ।
कोभिड-१९ को जोखिम दिन प्रतिदिन बढिरहँदा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सानै भएपनि सहयोग गर्न पाउँदा अध्यक्ष बस्नेतले खुसी व्यक्त गरे ।
तरुण दलले अस्पताललाई हस्तान्तरण गरेको स्वास्थ्य सामग्री नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले तरुण दलको केन्द्रीय समितिलाई दिएका थिए ।