arrow

विधिपूर्वक समापन गरियो महालक्ष्मीको १६ दिने विशेष आराधना

logo
प्रकाशित २०७७ भदौ २४ बुधबार
mahalaxmi.jpg

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि शुरु गरेको १६ दिने महालक्ष्मी व्रत बुधबार विधिपूर्वक समापन  गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमी अर्थात् बुधबारका दिनसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ । यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।  

  प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिई बुधबार बेलुकी यो व्रत समापन गरिएको छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख, दारिद्रय नाश भई सुख, शान्ति एवं ऐश्वर्य मिल्ने धार्मिक विश्वास छ ।

 साक्षात् भगवान् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उप प्राध्यापक चिन्तामणि भट्टराईले  जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ ।  देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने उनले बताए ।

 प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ । यी समयमा महालक्ष्मीको विधिपूर्वक पूजा आराधना गरेमा सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने भएकाले वैदिक सनातन धर्मावलम्बीले घर घरमा उपासना गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ