arrow

प्रचण्ड–नेपाल दुरी बढ्दै 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २४ बुधबार
nepal-prachanda.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा एकजुट भएका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दुरी बढ्दै गएको छ । विवाद चुलिदै जाँदा प्रचण्ड नेपालको समूह बलियो देखिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई नेतालाई फूटाएर प्रचण्डलाई हात लिएपछि प्रचण्ड नेपालको दूरी बढेको हो ।

ओलीसँग भेटघाट गरेर फर्केपछि प्रचण्डले सधै पहिलो फोन नेपाललाई गर्दै ओलीसँग भएको भेटघाट कुराकानी शेयर गर्दे आएका थिए । तर तीन दिनयता लगातार ओली प्रचण्ड भेटिरहेका भएपनि नेपालसँगको सम्पर्क भने टुटेको छ ।

तीन दिन यता प्रचण्ड नेपालको कुराकानी नभएको कोटेश्वर निकट स्रोतले जनाएको छ । माधव नेपालले प्रचण्डको कार्यकारी अधिकार र अबको महाधिवेशनमा एकल अध्यक्षको उम्मेदवारको विषयलाई लिएर असहमति जनाएपछि उनीहरुबीच दुरी बढेको स्रोतको दावी छ । 

दश असारबाट सुरु स्थायी कमिटी बैठक पार्टीभित्र चर्किएको अन्तरविरोधका कारण पटक–पटक स्थगित भएपछि अब एकता र सहमतिको बैठक गर्ने ओली र प्रचण्डको तयारी छ । त्यस निम्ति पार्टी समस्या समाधान गर्न गठित महासचिव पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको ५२बुँदे प्रतिवेदनमा आधारित रहेर सहमतिको ठोस प्रस्ताव लैजान ओली र प्रचण्डले गृहकार्य सकाएका छन् । सहमति र एकताको सन्देशसहित स्थायी कमिटी बैठक सम्पन्न गर्ने ओली–प्रचण्डको तयारी छ । तर यो बीचमा नेपालसँग ओली प्रचण्ड दुवैले संवाद भने घटाएका छन् । 

प्रधानमन्त्री ओलीका एक सल्लाहकारका अनुसार बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंगलगायत विभिन्न स्थानमा रिक्त राजनीतिक नियुक्ति गर्ने, एकताको बाँकी काम सम्पन्न गर्ने सोचमा प्रधानमन्त्री छन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि आग्रह गर्ने सचिवालय बैठकको निर्णयलाई समेत स्थायी कमिटीबाटै अनुमोदन गराउनका लागि कार्यान्वयनमा केही दिन ढिलाइ भएको ती सल्लाहकारको भनाइ छ । यद्यपि गौतमको मनोनयनलाई भने स्थायी कमिटीबाट अनुमोदन गराइराख्नु पर्ने जरुरी थिएन । यसअघिका मनोनयन स्थायी कमिटीबाट अनुमोदन भएका थिएनन । १८ भदौको सचिवालय बैठकमा ओलीले गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने जानकारी दिएका थिए । तर अहिलेसम्म उनले सो निर्णय कार्यान्वयन गरेका छैनन । जबकि प्रधानमन्त्रीले एउटा पत्र राष्ट्रपति कार्यालयलाई लेखेपछि गौतमको मनोनय हुन्थ्यो । 

अबको स्थायी कमिटीमा पुराना एजेन्डा र नयाँ दुवैखाले विषयवस्तुमा बैठकमा छलफल हुने बताइएको छ । पार्टीभित्रको समस्या समाधानका लागि गठित कार्यदलले प्रस्तुत गरेको सुझाब र पछिल्लो सचिवालय बैठकमा आएका धारणालाई समेटेर अध्यक्षहरूले सहमतिको ठोस प्रस्ताव ओली प्रचण्डले तयार गरेका छन् । कार्यदलको सुझावप्रति वरिष्ठ नेता माधव नेपालको असहमति रहेको छ । साथै प्रचण्डलाई दिइने कार्यकारी अधिकारप्रति पनि उनको असहमति रहेको छ । सुझाव प्रतिवेदनमा प्रचण्डलाई दिइने कार्यकारी अधिकारमा मूलतः भन्ने शब्दको के ब्याख्या हुन्छ भन्दै नेपालले १८ गतेको बैठकमा प्रश्न उठाएका थिए । 
ओली प्रचण्डबीच सोमबार–मंगलबार दुई दिन छलफल भएको थियो । उनीहरुबीच स्थायी कमिटी बैठकअघि प्रस्ताव तयारीका लागि थप गृहकार्य गरेर सचिवालय बैठक बोलाउने ओली र प्रचण्डबीच समझदारी छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग भएपछि विभाजनतिर धकेलिने गरी नेकपाको विवाद चुलिएको थियो । तर, राजीनामा नदिने अडानबाट ओली टसमस नभएपछि १३ साउनमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहित बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीनिवास बालुवाटारमै बैठक गरेर हठबाट पछि नहटे पार्टीमा दुर्घटना हुन सक्ने चेतावनीसहितको सन्देश दिएका थिए । बैठकमा धेरै नेताले ओलीले स्थायी कमिटीलाई इन्कार गर्ने कुरा गलत भए पनि पार्टी विभाजन रोकेर सहमतिका लागि पहल गर्नुपर्ने निष्कर्षसहितको सुझाब दिएपछि उनीसँग छलफल गरेर सहमतिमा स्थायी कमिटी बैठक बोलाउने जिम्मेवारी प्रचण्डलाई दिइएको थियो । त्यसपछि ओली–प्रचण्डबीच अनेकौंपटक अनौपचारिक छलफल भएअनुसार विवाद समाधानका लागि सुझाब दिन महासचिव पौडेलको नेतृत्वमा ३० साउनमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल र भीमबहादुर रावल सदस्य रहेको कार्यदलले ६ भदौमा अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड, मन्त्रिपरिषद् पुनर्गठनसहितको १७ पृष्ठको प्रतिवेदन ओली र प्रचण्डलाई बुझाएको थियो ।

तर, वरिष्ठ नेता माधवकुमार नेपालले भने १८ भदौको सचिवालय बैठकमा प्रतिवेदन अमूर्त र अस्पष्ट रहेको भन्दै १५बुँदे असहमति राख्दै परिमार्जनमा जोड दिएका थिए । त्यसपछि ओली–प्रचण्डले नेपाललाई खास वास्ता गर्न छाडेको स्रोतको दावी छ । ओली र प्रचण्डले नेपालको पछिल्लो असन्तुष्टिसमेत सम्बोधन हुने गरी सहमतिको प्रस्तावको गृहकार्य गरिरहेको सन्देश भने उनीहरुले विभिन्न नेताहरुमार्फत नेपाललाई दिइरहेका छन् तर ओली प्रचण्डले भने कुनै परामर्श गरेका छैनन । 

दश असारमा सुरु भएको स्थायी कमिटी बैठकमा दुई अध्यक्षको सम्बोधन, कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेसन सहायता (एमसिसी) र विविध एजेन्डा थिए । तिनै एजेन्डालगायत पार्टीभित्रको असन्तुष्टिका विषय समेटेर कार्यदलले प्रतिवेदन बुझाएकाले ओली र प्रचण्डले त्यस्तै प्रस्तावलाई टुंग्याएका छन् ।



लोकप्रिय समाचार
नयाँ