काभ्रेपलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बिमा थालिएको छ ।
नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो ।
नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बिमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको शुरुआत गरेकी हुन् ।
“बिमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ”, उनले भनिन् । उनले कार्यक्रमको शुरुआतसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गरे ।
सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बिमा कार्यक्रममा अट्नेछन् । उनले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बिमा गरिने जानकारी दिइन् ।
“उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत यस वर्ष यही बीमा हो”, उनले भनिन् । उनका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बिमा गरिनेछ ।
प्रिमियम रकममा ५० प्रतिशत छुटमा रु एक लाखको बीमा हुने जनाइएको छ । सङ्क्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बिमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताए ।
उनले भने, “बिमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने अपेक्षा गरेका छौँ ।” उनका अनुसार हाल नगरमा सक्रिय सङ्क्रमित महिला ४० र ६६ पुरुष रहेका छन् । यसअघि नगरले जनप्रतिनिधि र कर्मचारीको बिमा गरिसकेको जनाएको छ ।
पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले साताअघि एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बिमाको प्रक्रिया थालेका छन् ।
लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १२८ एकल महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिरहेको बताए । “प्रिमियम रकममा ५० प्रतिशत छुटमा उनीहरुको बिमा गर्न लागेको हुँ”, उनले भने ।