सिन्धुपाल्चोक। गाउँगाउँमा सिंहदरबार भनिएसँगै स्थानिय तह अधिकारको हिसाबले जति शक्तिशाली भएका छन् कर्तव्य र जवाफदेहिताको हिसावले भने अत्यन्तै कमजोर देखिन थालेका छन्। यो कमजोरी स्थानिय तहमा निर्वाचित नेतृत्व र त्यहाँ कार्यरत कर्मचारीको कार्यशैलीका कारण पनि देखिन थालेको छ।
स्थानिय तहका कार्यालयहरुलाई आफ्नो अनुकुलतामा कर्मचारीहरु र जनप्रतिनिधीहरुले प्रयोग गर्दा स्थानिय तहको मर्ममै प्रहार पनि हुन थालेको छ। हुँदाहुँदा कर्मचारीहरुले स्थानिय तहका कार्यालयहरुलाई मदिरा पिउने भट्टी समेत बनाएपछि कार्यालयको गरिमा समेत खस्किदै गएको छ । यस्तै भएको छ सिन्धुपाल्चाेक जिल्लाकाे मेलम्ची नगरपालिकामा।
मेलम्ची नगरपालिकाकाे कार्यकक्षमै बसेर नगरपालिकाकाे इन्जिनियर जित बहादुर कार्की, इन्जिनियर अरुण कुमार झा, सवइन्जिनियर ललन शाह, लेखा अधिकृत मुरारी पुडासैनी, सन्ताेष थापा र अन्य व्यक्तिहरु यहि भदौ २३ गते कार्यकक्षमै मादक पदार्थ सेवन गरिरहेको अवस्थामा पाइए । नगरपालिकाकाे इन्जिनियर शाखामा बसेर उनीहरुले मदिरा सहितको पार्टी गरेका थिए । स्थानिय गणेश चालिसेले कार्यालयमै मदिरा पिएको सूचना पाएपछि भिडियो खिच्न पुग्दा उनलाई त्यहाँ रहेकाहरुले क्यामेरा हटाउँदै खिच्नबाट रोकेका थिए।
सरकारी कार्यलयमा धुम्रपान, मद्यपान अनैतिक हो । तर पनि नगरपालिकाका कर्मचारीहरुको यो हर्कत राजनीतिक नेतृत्वलाई मिलाउन सकिन्छ भन्ने आँटबाट मात्र सम्भव भएको स्थानिहरु बताउँछन् ।
उक्त घट्नाकाे बारेमा थप जानकारी लिन मेलम्ची नगरपालिकाका उप-मेयर भगवती नेपालले यस बारे केहि थाहा नभएकाे भन्दै मेयरसँग सम्पर्क गर्न अनुराेध गरेकी थिइन । तर मेयर डम्बर बहादुर अर्यालले फाेन सम्पर्क गर्दा फाेन उठाएनन् ।
यसलगत्तै कार्यकक्षमा मादक पदार्थ सेवन गरिएकाे भनिइका इन्जिनियर जित बहादुर कार्कीलाई फाेन सम्पर्क गर्दा “त्याे भिडियाेकाे बारेमा हामिलाई केहि पनि थाहा छैन, नगरपालिकामा टेण्डर अपलाेड हुन्छ, त्यहि टेण्डर अपलाेडकाे विषयमा बेलुका ढिलासम्म बसेका थियाैं तर अरु कुरा केहि जानकारी नभएकाे” उनले बताए ।
भिडियो स्रोत डिजिटल खबरः