डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप शुक्रबार बिहान दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ ।
घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए ।
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।