arrow

कांग्रेस नेता सिटौलाले ट्रेड युनियनलाई गरे सशक्त आन्दोलनका लागि आह्वान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
krishna-prasad-sitoula.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले ट्रेड युनियन कांग्रेसलाई सशक्त आन्दोलन गर्न आह्वान गरेका छन् । शुक्रवार गिरिजा प्रसाद कोईराला श्रम प्रतिष्ठानले कोभिड-१९ ले श्रम क्षेत्रमा पारेको प्रभाव र समाधानका उपाय विषयक नेपाल र भारतीय श्रमिक नेताहरुबीच आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सिटौलाले लकडाउनका कारण नेपाल तथा दक्षिण एसियाली मुलुकका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको जीवन कठिन भन्दा कठिन अवस्थामा पुग्दा समेत सर्वहारा वर्गको सरकार दावी गर्नेहरुले टुलुटुलु हेरेर बसेकोले श्रमिक समस्या समाधान गर्न सशक्त आन्दोलन गर्न आह्वान गरेका हुन्। 

कार्यक्रममा दक्षिण एशियाली क्षेत्रिय ट्रेड युनियन महासंघ सार्कटुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले नेपाल लगायत दक्षिण एसियाली मुलुकका श्रमिकहरु लकडाउनबाट सृजित समस्यामा अभिभावकविहिन भएकोले एउटै समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै समस्या समाधानकालगी सबै देशका श्रमिक संघसंगठनहरु एक भई प्रभावकारी कदम चाल्नु पर्ने बताए।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले यस वर्षको बजेट कोभिड, स्वास्थ्य , रोजगारी सृजना, राहत  र आप्रवासी श्रमिकको उद्घारलाई ध्यानमा राखी निर्माण गर्न ध्यानाकर्षण गराएको स्मरण गराउनु हुँदै सरकारले सरोकारवालाहरुले दिएको सुझावलाई लत्याएको कारण अहिले समस्या आएको बताए। सरकार संवेदनहिन बन्दै श्रमिकको बेवास्ता गर्दा रोगले भन्दा बढी मानसिक तनावका कारण आत्महत्या बढेको आचार्यले बताए ।

हिन्द मजदुर सभाका महासचिव हरभजन सिंहले शिक्षा, स्वास्थ्य लगायत निमुखा जनताको हरेक समस्या समाधान गर्छु भनी सरकारमा पुगेका मोदी नेतृत्व सरकारले लकडाउनका कारण श्रमिकको जीवन अस्तव्यस्त हुँदा पनि सहयोग गर्नुको सट्टा श्रमिक विरोधी ऎन कानुन लाद्न खोजेको आरोप लगाए।

भारतीय राष्ट्रिय ट्रेड युनियन कांग्रेस ( आईएनटियुसी) का उपाध्यक्ष चन्द्र प्रकाश सिंहले नेपाल र भारत श्रमिकहरुको समस्या उस्तै भएको बताए । भोकै मर्ने डरले नेपाल जस्तै भारतका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु पनि हजारौं किलोमिटर हिडेर आफ्नो गाउँ पुग्दा समेत सरकारको ध्यान श्रमिकमा नपुगेको बताए।

कार्यक्रममा आईएलओ नेपालका नारायण भट्टराई, आईटीएफ दिल्लीका संगम त्रिपाठी, बिडब्लुआई दिल्लीका प्रेरणा, ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष अजय कुमार राई, आशासिंह राठोर, जीपी कोईराला श्रम प्रतिष्ठानका महासचिव सुर्य नेपाल लगायतले लकडाउनका कारण अनौपचारिक क्षेत्रका श्रमिक सबैभन्दा बढी मारमा परेको र सरकारले कुनै उचित राहत दिन नसकेको बताए । कार्यक्रम जीपी कोईराला श्रम प्रतिष्ठानका अध्यक्ष शिशिर कुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
नयाँ