काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको शुक्रबार सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले १७ वटा बुँदाँमा आलोचनात्मक धारणा राख्दै एक व्यक्ति एक जिम्मेवारीको अडान कायमै राखेका छन् । उनले यो दुई पार्टी बीचको एकता हो, पार्टी एकता मूलतः साविक कमिटीहरु बीचको एकता हो भन्ने बुझ्नु पर्दछ भन्दै एक व्यक्ति एक जिम्मेवारीको अडान यथावत रहेको बताएका हुन् । उनले अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन्, तर यसलाई दुई अध्यक्षहरुको जिम्मेवारी बाँडफाँड वा समझदारीको आधारमा मात्र भनेर ब्याख्या गर्न सकिदैन, यो समग्र पार्टी पंक्तिको एकता हो, त्यसैले निश्चित बिधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ भन्ने अडान राख्दै आलोचनात्मक धारणा राखेका हुन् ।
नेपालले पार्टीमा जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा एकताको सन्देश दिनेबेला साविक कमिटीमा रहेको कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्ने, अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलर अनुरुप साविक कमिटीका सिनियरहरुलाई राखेर एकिकृत कमिटी निर्माण गर्नुपर्ने, अधिवेशनमा निश्चित बिधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्ने धारणा राखेका थिए । त्यसैगरी पार्टी विधानको धारा ४६ ‘क’अनुसार सबै तहमा र सबै ब्यक्तिको हकमा ‘एक ब्यक्ति एक प्रमुख जिम्मेबारी’को कार्यान्वयन गर्नुपर्ने, पार्टी बिधानको कार्यान्वयन सम्बन्धमा विधानको धारा ४७‘क’ मा भएको ‘अनुगमन र मूल्याङ्कन’ सम्बन्धी ब्यवस्था, धारा ६०‘क’ मा भएको ‘पार्टीको निर्णय’को ब्यवस्था र धारा १७ को (ङ), (झ) र (ट) मा भएका ‘केन्द्रीय कमिटी अध्यक्ष र महासचिवको अधिकार र कर्तब्य’ सम्बन्धी ब्यवस्थालाई लागु गर्ने काम गनुपर्ने विषयलाई प्रमुखताका साथ उठाएका छन्।
त्यसैगरी वरिष्ठ नेता नेपालले विभिन्न तहमा कम्युनिष्ट आन्दोलनको स्थापना, विस्तार र विकास गर्न योगदान गरेको पुस्तालाई सम्मान गर्नुपर्छ एवम् उनीहरुको भूमिकाको कदर गर्नुपर्ने, अहिले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ पुस्ता आएपनि पूरानो पुस्ताको भूमिकालाई सम्मान हुने र उनीहरुलाई आफ्नो पार्टी भनेर अनुभूति हुने वातावरण निर्माण गर्नुपर्ने, आन्तरिक प्रतिस्पर्धालाई ब्यवस्थित गर्नुपर्ने, पार्टी बैठक, निर्णय र निर्णय प्रक्रियामा बैठक नियमित एवम् विधानले तोकेको अवधिमा अनिवार्य रुपमा बस्नुपर्ने, बैठकमा पर्याप्त छलफल गराउनु पर्ने र ब्यक्त बिचारहरुका आधारमा विधान अनुसारको प्रक्रिया अनुरुप निर्णय गर्नुपर्ने समेत उल्लेख गरेका छन् । यसबाहेक तत्काल समस्याहरु आउँदा वा महत्वपूर्ण निर्णयहरु गर्ने बेलामा पार्टीका औपचारिक/अनौपचारिक बैठक बस्नुपर्ने र कमिटीले निर्णय गर्ने साथै नेतृत्वका बीचमा समझदारी निर्माण गर्ने काम गर्नुपर्ने पनि उनको धारणा रहेको छ ।
वरिष्ठ नेता नेपालले नेता कार्यकर्ताको मूल्याङ्कन सम्बन्धमा वरिष्ठता र क्षमताका आधारमा जिम्मेवारी र प्राप्त जिम्मेवारीको कार्य सम्पादन मुल्याङ्कनको आधारमा पदोन्नति वा यथाजिम्मेवारी दिने काम गर्नुपर्ने, आफुलाई प्राप्त जिम्मेवारी पूरा गर्दा वा नगर्दा आफ्नो भूमिका वा पदमा के फरक पार्छ भन्ने कुरा प्रत्येक नेता कार्यकर्ताले बुझ्नुपर्ने र यसका लागि बैज्ञानिक प्रणालीको विकास गर्नुपर्ने बताएका छन् । साथै योग्य, नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित गर्ने सम्बन्धमा बिषयगत विशिष्ठता भएका, अनुभवी पुराना नेतृत्व तहका कमरेडहरुका साथै युवा र क्षमतावानलाई निश्चित मापदण्ड बनाएर मात्र पार्टी तथा सरकारमा जिम्मेवारी दिनुपर्ने, चाकरी र मूल नेतृत्वसँग सामिप्यताको आधारमा होइन काम र क्षमताको आधारमा प्रत्येकलाई आफ्नो भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्ने, पाटीभित्र झ्याङ्गिएको गैर सर्वहारा एवम् गैर कम्युनिष्ट प्रवृत्ति र चरीत्रका बिरुद्ध ब्यापक शुद्धिकरण अभियान र बैचारिक सैद्धान्तिक प्रशिक्षण अभियान चलाउनु पर्ने समेत बताएका छन् ।
त्यसैगरी सरकारको सम्बन्धमा पनि उनले स्पष्ट विधि र मापदण्ड बनाएर सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘स्पष्ट र पारदर्शी मापदण्ड निर्माण गरी पार्टी भित्रको सन्तुलन एवम् मुलुकको समेत सन्तुलनलाई मिलाएर नेताहरुको बीचमा समझदारी निर्माण गरी सरकार निर्माण गर्नुपर्दछ, सरकारमा वा राजनीतिक नियुक्तिमा पठाउने ब्यक्तिहरुको निर्णय पार्टीको सम्बन्धित जिम्मेवार निकायबाट गर्नुपर्दछ, सरकार पार्टीको नीति अनुरुप घोषणापत्रका लक्ष्य हासिल गर्ने गरी सञ्चालन गर्नुपर्दछ, पार्टीले सरकार सञ्चालन गर्नुपर्छ, सरकारले गर्ने महत्वपूर्ण निर्णय तथा दीर्घकालिन महत्व राख्ने बिषयहरुलाई पार्टीमा छलफल गराउनु पर्दछ र आवश्यकता अनुसार विज्ञको राय लिनुपर्दछ ’, उनले सो सुझाव राखेका छन्।
त्यस्तै उनले भ्रष्ट्राचार र सुशासनका सन्दर्भमा पनि आफ्ना राख्दै भ्रष्ट्राचारका प्रत्येक मुद्धामा सरकार एवम् पार्टी दुवै संवेदनशील हुनुपर्ने, नेता तथा कार्यकर्ताहरुको जीवनशैली सादगीपूर्ण र पारदर्शी हुनुपर्ने, प्रत्येक उजुरीको पार्टी तथा राज्यका सम्बन्धित अङ्गबाट तत्काल निष्पक्ष छानवीन गर्नुपर्छ, दोषीमाथि कडा कारवाही गर्नुपर्छ, गंभीर जनसरोकार र सुशासनका कुरामा कसैलाई छुट दिन नहुने, सुशासनका बाधक बिषयहरुलाई ऐन कानुन संशोधन गरेरै भएपनि हटाउनु पर्ने, सेटिङ्ग प्रणालीको अन्त्य गर्नुपर्ने, दलाल पूँजीपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्न नहुने धारणा समेत राखेका थिए । त्यस्तै राजनीतिक तथा अन्य नियुक्तिका सम्बन्धमा वरिष्ठ नेता नेपालले सम्बन्धित निकायले अपेक्षा गरेको योग्यता अनुरुप निश्चित मापदण्ड तयार गरी त्यसको आधारमा राजनीतिक नियुक्ति गर्नुपर्ने, नियुक्त हुने ब्यक्तिको आचरण, ब्यबहार, आस्था र सन्तुलन समेत विचार गर्नुपर्ने, एउटा तहमा छलफल चलाई समाजमा बद्नाम नभएका एवम् कसैका विरुद्ध निम्न स्तरको गाली गलौज तथा सार्वजनिक अपमान नगरेको र नगर्ने ब्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने बताएका थिए । उनले पार्टी स्पष्ट मापदण्डको आधारमा सञ्चालन हुनुपर्ने समेत धारणा राखेका थिए ।