बागलुङ। जिल्लाको पश्चिम क्षेत्रको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाली कांग्रेस बागलुङका नेताहरु राहत लिएर पुगेका छन् । भदौ १७ गते ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीबाट प्रभावित क्षेत्र र केही समय पहिले तमानखोला र निसीखोलामा पहिरोबाट प्रभावित बनाएको क्षेत्रमा राहत बोकेर पुगेका हुन्।
कांग्रेस बागलुङका निवर्तमान उपसभापति जगदिशचन्द्र उपाध्यायको नेतृत्वमा निवर्तमान सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल सहितको टोलीले ढोरपाटनका बाढी पिडितको साथमा निसी र तमानका पहिरो पिडितलाई पनि राहत रकम हस्तान्तरण गरेको छ ।
स्थानिय जनप्रतिनिधि र कांग्रेसका नेताहरुको रोहबरमा यस क्षेत्रमा बाढी र पहिरोबाट पिडित ४४ घर परिवारलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको कांग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्यायले जानकारी दिए ।
राहत रकम मध्ये ५६ हजार रुपैयाँ जनकल्याणकारी संस्था जापानका अध्यक्ष अर्जुन कंडेल, सह कोषाध्यक्ष पिन्सेस खरलले जापानमा संकलन गरेर पठाएका थिए । बाँकी अन्य रकम कांग्रेस नेता उपाध्यायले अन्य क्षेत्रबाट संकलन गरेर नगदै बोकेर पुगेका थिए ।
पिडितका लागि तत्काल भए पनि केही राहत पुर्याउने उद्देश्यले सानो रकम लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको उपाध्यायले बताए । “अहिले बाढि पिडितका लागि धेरै रकम र राहत सामाग्री आएको छ । सडक अवरुद्ध भएका कारण उनिहरुलाई उक्त राहत पुग्न सकेको छैन । उपाध्यायले भने,–‘भुजीखोला क्षेत्रको अवस्था एकदमै दर्दानाक छ । पिडितका लागि विभिन्न संस्थाबाट राहत आएको छ । तर त्यो नगरपालिकाकै गोदाममा नै थुप्रिएको छ । हामी त्यहाँ पुग्दा पिडितको एउटै आवाज सुनिन्छ की हामीसँग न पकाउने भाँडा त छ । खाने अन्न छैन ।” उनले नगरपालिकाले एकद्धार प्रणाली गरेर बुर्तिबाङमै खाद्यान्न थुप्रो पारेर राख्नु भन्दा तत्काल केही बैकल्पिक व्यवस्था गरेर पिडित परिवार समक्ष राहत पुर्याउनुपर्ने र तत्कालका लागि अस्थायी भए पनि बसोबासका लागि व्यवस्था गर्नुपर्ने देखिएको बताए।
राहत लिएर उपाध्यायको साथमा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, जीपी फाउण्डेशन बागलुङका अध्यक्ष महेन्द्र प्रसाद कंडेल र स्थानिय जनप्रतिनिधि बाढी तथा पहिरोले प्रभावित क्षेत्रमा पुगेका थिए । उनिहरुले स्थानिय जनप्रतिनिधिकै रोहबरमा राहत वितरण गरेका हुन्। नेता उपाध्यायले केही दिनमा जिल्लाको काठेखोला र जैमीनीका पहिरोपिडितका लागि पनि राहत उपलब्ध गराउने बताए ।
ढोरपाटनका बाढी पिडितका लागि राहत संकलन र वितरण एकद्धार बनाउने भनेर सोमबार नेपाल रेडक्रस सोसाईटीले राहत बोकेर गएको गाडीलाई केही क्षण रोकिएको थियो । पछि पुन उक्त राहत बाढी प्रभावित क्षेत्रमा पुर्याईएको छ।
गत भदौ १७ गतेको भुजीखोलाको बाढीले हालसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ भने बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् । भूजिखोलामा खसेको पहिरोका कारण आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो । बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडामा अन्धकार छाएको छ । बाढीले बुर्तिबाङ–ढोरपाटन सडक समेत बगाउँदा यातायात समेत ठप्प भएको छ । यसले गर्दा राहात सामग्री समेत पुर्याउन कठिन परेको छ ।
बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको जीप पनि बगाएको प्रहरीले जनाएको छ ।